त्रिपुरेश्वर बस आगलागी घटनाको छानबिन गर्न दुई समिति गठन

काठमाडौं । सोमबार मध्याह्न काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगलागी घटानको छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन भएको छ ।

रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैह्रेकाे संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ।

समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन्।

यो समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गर्नेछ।

त्यस्तै, उपत्यका प्रहरी कार्यालयले पनि एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छुट्टै समिति गठन गरेको छ।

दुवै समितिले घटनासँग सम्बन्धित तथ्य, प्रमाण एवं सूचना सङ्कलन र विश्लेषण गर्नेछ । घटनास्थल वरपरको सीसीटिभी फुटेज अध्ययन गरी विश्लेषण गर्ने, बस चालक दावा लामाको व्यक्तिको पृष्ठभूमि एवं अन्य प्रमाणिक विवरण संकलन गरी प्रतिवेदन तयार गर्नेछ ।

साथै, समितिले आगामी दिनमा यस प्रकृतिका घटना घट्न नदिनका लागि अपनाउनुपर्ने पूर्वसावधानी र नियन्त्रणका लागि उपायसहितको सुझाव पेस गर्नुपर्नेछ।

बस चालककाे उपचारको क्रममा मृत्यु भएको छ ।


Back_to_top