काठमाडौं । हुन्डाई मोटर ग्रुपले लक्जरी ईभीलाई ध्यानमा राख्दै नयाँ ‘ईएमपी प्लेटफर्म’ विकास गरेको छ । ठूलो ब्याट्री, उच्च पावर, पछाडिका पाँग्रासमेत घुम्ने प्रविधि र बी-पिलरबिनै खुल्ने ढोका जस्ता विशेषता भएका कारहरू ईएमपी प्लेटफर्ममा बन्नेछन् ।
हुन्डाई मोटर ग्रुपले यसअघि ई-जीएमपी प्लेटफर्ममा आयोनिक-५, आयोनिक-९, किया ईभी-६ जस्ता मोडल उत्पादन गरेको थियो । अब ती गाडीभन्दा पनि लक्जरी कारको लागि नयाँ प्लेटफर्म विकास गरेको हो ।
नयाँ ईएमपी प्लेटफर्म ठूला र विलासी ईभीसँगै फ्ल्यागसिप मोडललाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ । यो प्लेटफर्ममा आधारित रहेर कम्पनीले जेनेसिस जीभी-९० पहिलो मोडलको रूपमा ल्याउँदैछ ।
त्यसैले हुन्डाईको नयाँ ईएमपी प्लेटफर्मका मुख्य ६ कुराका बारेमा हामीले यहाँ चर्चा गर्दैछौं ।
बी-पिलरबिनै खुल्ने ढोका
नयाँ प्लेटफर्म ईएमपीको सबैभन्दा रोचक पक्ष नै बी-पिलरबिनाको ढोका संरचना हो । सामान्य कारमा अगाडि र पछाडिको ढोका बीच रहने बी-पिलरको सहायतामा ढोका प्रयोग हुन्छ ।

तर, ईएमपीमा मजबुत संरचनात्मक बीम र बलियो यात्रु कक्ष प्रयोग गरेर बी-पिलरबिनै ढोका खोल्न सकिने संरचना विकास गरिएको छ । यस्तो डिजाइनले अगाडि र पछाडिको ढोका एकैपटक खोल्दा निकै फराकिलो प्रवेशद्वार पाउन सकिन्छ ।
यसले यात्रुलाई कारमा प्रवेश गर्न सहज त बनाउँछ नै विलासी सवारीको लाउन्ज शैलीको भित्री डिजाइन पनि पाउन सकिन्छ ।
ठूलो ब्याट्री दिन मिल्ने
ईएमपीको अर्को महत्वपूर्ण पक्ष ठूलो ब्याट्री प्रयोग गर्न मिल्नु हो । यस प्लेटफर्ममा १२३.५ किलोवाट आवर क्षमतासम्मको ब्याट्री प्याक प्रयोग गर्न सकिन्छ ।
अहिले हुन्डाईले आफ्नो ठूलो एसयूभी आयोनिक-९ मा १०१ किलोवाट आवरको ब्याट्री दिएको छ । ईएमपीमा प्रयोग हुने ब्याट्री पहिलेकोभन्दा ठूलो र भारी हुनेछ ।
अझ रोचक कुरा यसमा वायरलेस ब्याट्री म्यानेजमेन्ट प्रणाली प्रयोग गर्न सकिन्छ । जसले परम्परागत प्रणालीमा प्रयोग हुने तार, कनेक्टर लगायतका कुराको तौल कम गर्छ । साथै, सम्भावित बीएमएसमा आउने खराबी पनि हटाउन सकिन्छ ।
धेरै पावर र टर्क
शक्तिका हिसाबले पनि ईएमपी निकै उच्च क्षमताको प्लेटफर्म हुनेछ । यसमा आधारित फ्ल्यागसिप विद्युतीय सवारीले अधिकतम ४९० किलोवाट अर्थात् करिब ६५७ हर्सपावर शक्ति र ८०० एनएम टर्क उत्पादन गर्न सक्ने क्षमता राख्नेछ ।
अगाडि र पछाडिको एक्सलमा इलेक्ट्रोनिक रूपमा नियन्त्रण हुने सीमित-स्लिप डिफरेन्सियल प्रयोग गरिने भएकाले सबै कीसिमका सडकमा चलाउन उपयोगी हुन्छ ।
यसले उच्च शक्तिको उपयोग मात्र होइन, घुम्तीमा गाडीको स्थिरता र नियन्त्रणमा समेत सहयोग गर्ने अपेक्षा गरिएको छ।
पछाडिका पाँग्रा पनि घुम्ने
ठूला एसयूभी ब्यस्थ सहरमा चलाउँदा साइजले जहिल्यै समस्या पार्न सक्छ । हुन्डाईले ईएमपीमा यही समस्यालाई सम्बोधन गर्न ५ डिग्रीसम्म पछाडिका पाँग्रा घुमाउन सकिने रियर-ह्वील स्टेयरिङ दिनेछ ।
अगाडिका पाँग्राको विपरीत दिशामा पछाडिका पाँग्रा घुम्दा कम गतिमा गाडीको मोड्ने क्षमता सुधार हुन्छ । यसले पार्किङ तथा साँघुरा सडकमा ठूलो एसयूभी चलाउन सहज बनाउनेछ । उच्च गतिमा गुड्दा भने एउटै दिशातर्फ घुमाएर स्थिरता सुधार गर्न सकिन्छ ।
मल्टिचेम्बर एयर सस्पेन्सन
लक्जरी एसयूभीमा आरामदायी यात्रा सधै प्राथमिकतामा पर्छ । त्यसलाई ईएमपीमा मल्टिचेम्बर एयर सस्पेन्सनले अर्को तहमा उकाल्छ ।
यसले सडकको अवस्था र ड्राइभिङ परिस्थिति अनुसार सवारीको उचाइ तथा सस्पेन्सनको व्यवहार परिवर्तन गर्न सहयोग गर्नेछ । सडकको अवस्था पहिल्यै पहिचान गर्ने प्रविधिसँग जोडेर खाल्डाखुल्डी तथा कमजोर सडकमा पनि आरामदायी यात्रा पाउन सकिन्छ ।
कारभित्रै ‘लाउन्ज’
ईएमपीले गाडीको भित्री भागलाई परम्परागत कारकोभन्दा फरक बनाउने छ । अगाडिका सिटलाई १८० डिग्रीसम्म घुमाउन सकिने छ ।
गाडी रोकिएको अवस्थामा अगाडिका यात्रुले पछाडिका यात्रुतर्फ फर्केर बस्न सक्नेछन् । यसले कारको क्याबिनलाई यात्राका क्रममा एउटा सानो लाउन्ज जस्तो बनाउने छ ।
साथै, नयाँ केन्द्रीय कम्प्युटिङ प्रणाली र दि प्लियोस कनेक्ट मार्फत डिजिटल सुविधा, मनोरञ्जन, कनेक्टिभिटी तथा स्मार्ट-सवारी प्रणाली एकीकृत गर्न मिल्नेछ ।

