चिनियाँ अटो बजारमा लगातार सुधार, यस्तो छ सेप्टेम्बरमा मुख्य ब्राण्डको बिक्री

काठमाडौं । सन् २०२६ को सुरूवातदेखि नै ओरालो लागेको चिनियाँ अटो बजारमामा पछिल्ला महिनाहरूमा लगातार सुधार देखिन थालेको छ । जनवरीदेखि लगातार घटेको चिनियाँ अटो बजार मे महिना यता क्रमशः सुधार आएको हो ।

तीव्र प्रतिस्पर्धा र सरकारी नीतिका कारण सुस्ताएको चिनियाँ अटो बजार पछिल्लो महिनाहरूमा माग बढेसँगै सुधारोन्मुख देखिएको हो । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा विद्युतीय र हाइब्रिड सवारीको माग बढ्दा समग्र अटो बजारमा सुधार आएको हो ।

सार्वजनिक तथ्यांक अनुसार सन् २०२६ सेप्टेम्बरमा अधिकांश मुख्य ब्राण्डहरूको बिक्रीमा वृद्धि भएको छ । लीपमोटर, एक्सपेङ लगायत ब्राण्डले बिक्रीमा रेकर्ड बनाएका छन् ।

यस्तो छ सेप्टेम्बरमा मुख्य ब्राण्डको बिक्री

बीवाइडी : बीवाइडीको बिक्रीमा लगातार चौथो महिना सुधार आएको छ । बीवाइडीले सेप्टेम्बरमा सर्वाधिक ४ लाख ६३ हजार ५६१ एनईभीको थोक बिक्री गरेको छ । सेप्टेम्बर अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.९८ प्रतिशतले बढी हो । यो अगस्ट महिनाको तुलनामा पनि ५.२८ प्रतिशत वृद्धि हो । कम्पनीले अगस्टमा ४ लाख ४० हजार गाडी बेचेको थियो ।

सेप्टेम्बरमा बीवाइडीले ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री २ लाख ७३ हजार १४३ युनिट र प्लग इन हाइब्रिड इलेक्ट्रीक भेहिकलको बिक्री १ लाख ८३ हजार ५७० युनिटमा पुगेको छ । बीवाइडीले यो वर्ष ९ महिनामा कुल ३० लाख ७८ हजार ४९० युनिट बिक्री गरेको छ ।

जिली :  जिलीले सेप्टेम्बरमा कुल २ लाख ९२ हजार १६८ युनिट गाडी बिक्री गरेको छ । यसको गत वर्ष सोही अवधिको तुलनामा ६.९७ प्रतिशत धेरै हो । कम्पनीले यो वर्षको ९ महिनामा कुल २२ लाख ३५ हजार ४८१ युनिट गाडी डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.०१ प्रतिशत धेरै हो ।

लिपमोटरले सेप्टेम्बरमा विश्वव्यापी रूपमा १ लाख ५ हजार ६५६ युनिट सवारी साधन डेलिभरी गरेको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा ५८.५१ प्रतिशत धेरै हो । लिपमोटरले लगातार तेस्रो महिना पनि १ लाख युनिटको आँकडा पार गरेको छ।

कम्पनीले तेस्रो त्रैमासिकमा कीर्तिमानी ३ लाख १० हजार ५२ युनिट सवारी साधन डेलिभरी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७८.३४ प्रतिशत धेरै हो । लिपमोटरले यो वर्षको ९ महिनामा कुल ६ लाख ६६ हजार ५३९ युनिट सवारी बिक्री गरेको छ । जुन वार्षिक रूपमा ६८.५२ प्रतिशत धेरै हो ।

एसएआइसी जीएम वुलिङ : एसएआइसी जीएम वुलिङले सेप्टेम्बरमा १ लाख ३२ हजार ४५ युनिट गाडी डेलिभरी गरेको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा १५.१३ प्रतिशत कम हो ।

जीडब्ल्यूएमले सेप्टेम्बरमा १ लाख १४ हजार ९४४ युनिट सवारी साधन बिक्री गरेको छ । । यो गत वर्षको सोही अवधिको तुलनामा १३.९९ प्रतिशतले कम हो । जीडब्ल्यूएमको सन् २०२५ को जनवरी यताको यो यसको सबैभन्दा ठूलो वार्षिक गिरावट हो।

जीडब्ल्यूएमले जनवरीदेखि सेप्टेम्बरसम्म ९ लाख २० हजार ३०२ युनिट सवारी साधन बिक्री गरेको छ । जुन वार्षिक रूपमा ०.३३ प्रतिशतले कम हो।

नियो इन्कले सेप्टेम्बरमा ३७ हजार ४०८ युनिट सवारी साधन डेलिभरी गरेको छ । यो गत वर्ष सेही अवधिको तुलनामा ७.६५ प्रतिशत र अगस्टको तुलनामा ४.३९ प्रतिशतले धेरै हो । यसससँगै लगातार २ महिनाको मासिक गिरावटको अन्त्य भएको छ।

मुख्य नियो ब्राण्डले सेप्टेम्बरमा २१ हजार ३१८ युनिट सवारी साधन डेलिभरी गरेको छ । त्यस्तै, सबब्राण्ड ओन्भोले ८ हजार ७६३ युनिट र फायरफ्लाइले कीर्तिमानी ७ हजार ३२७ युनिट बिक्री गरेको हो । नियोले तेस्रो त्रैमासिकमा कुल १ लाख ९ हजार १७८ युनिट सवारी साधन डेलिभरी गरेकोे छ ।

एक्सपेङले सेप्टेम्बरमा ४१ हजार २५६ युनिट सवारी साधन डेलिभरी गरेको छ । जुन वार्षिक रूपमा ०.७८ प्रतिशतले घटेको भए पनि अगस्टको तुलनामा ५.५० प्रतिशतले बढेको छ। कम्पनीले तेस्रो त्रैमासिकमा कीर्तिमानी १ लाख १८ हजार ३९० युनिट सवारी साधन डेलिभरी गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा २.०५ प्रतिशतले बढी हो । सन् २०२६ को पहिलो ९ महिनामा एक्सपेङले २ लाख ८४ हजार ३६७ युनिट सवारी साधन डेलिभरी गरेको छ ।

ली अटोले सेप्टेम्बरमा ३१ हजार ८१७ युनिट सवारी साधन बिक्री गरेको छ । जुन वार्षिक रूपमा ६.२९ प्रतिशत कम हो । कम्पनीले पहिलो ९ महिनामा कुल २ लाख ९३ हजार ४३६ युनिट सवारी साधन डेलिभरी गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १.२५ प्रतिशतले कम हो ।

हुवावको हिमाले सेप्टेम्बरमा ३७ हजार ४९० युनिट सवारी साधन डेलिभरी गरेको छ । यो गत वर्ष सोही अवधिको तुुलनामा २९.१५ प्रतिशत कम हो । हुवावले ९ महिनामा कुल ३ लाख ६७ हजार २२९ युनिट सवारी साधन डेलिभरी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो ५.२७ प्रतिशतले धेरै हो ।

जिकरले सेप्टेम्बरमा ३७ हजार २१६ युनिट सवारी साधन डेलिभरी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै अर्थात् १०३.८५ प्रतिशत धेरै हो । यो ब्राण्डको लगातार छैठौं महिना मासिक डेलिभरी कीर्तिमान हो । कम्पनीले यो वर्षको ९ महिनामा कुल २ लाख ८८ हजार ४०४ युनिट सवारी साधन बिक्री गरेको छ । यो गत वर्षको तुलानमा दोब्बरले धेरै हो ।

दीपलले सेप्टेम्बरमा कुल ३० हजार १८५ युनिट कार बिक्री गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १०.२३ प्रतिशत कम हो । कम्पनीले सन् २०२६ को ९ महिनामा कुल २ लाख ५२ हजार २१३ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.५९ प्रतिशत धेरै हो ।

डोङफेङको स्वामित्वमा रहेको भोयाहले सेप्टेम्बर २०२६ मा १३ हजार २५ युनिट सवारी साधन डेलिभरी गरेको छ । यो वर्षको ९ महिनामा कम्पनीको बिक्री १९ प्रतिशतले बढेर १ लाख १५ हजार ४८१ युनिट पुगेको छ।

जीएसी आयोनले सेप्टेम्बर २०२६ मा ३५ हजार ४९४ युनिट बिक्री गरेको छ । जुन वार्षिक रूपमा २१.९१ प्रतिशतले बढेको हो। यो संख्यामा आयोन र हाइपटेक ब्राण्डहरूको बिक्री प्रदर्शन पनि समावेश छ।

यो समाचार प्रकाशन गर्दासम्म चांगान, डोङफेङ जस्ता प्रमुख ब्राण्डको कुल बिक्री तथ्यांक भने बाहिरिएको छैन ।


Back_to_top