काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र परिवर्तनको चरणमा प्रवेश गरेको छ । जसले कार निर्माताहरु बीचनै कडा प्रतिस्पर्धा सृजना गराउन सफल भएको देखिन्छ ।
ईभीको विकास र विस्तारसँगै सफ्टवेयर, स्वचालित ड्राइभिङ, वैकल्पिक इन्धन र आपूर्ति शृंखलामा देखिएका चुनौतीले आगामी वर्षहरूमा गाडी उत्पादन र प्रयोगको स्वरूप नै परिवर्तन हुने देखिएको हो ।
सन् २०२६/२७ मा अटोमोबाइल उद्योगलाई मुख्य रूपमा पाँचवटा प्रवृत्तिले प्रभाव पार्ने देखिएको छ । त्यसका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
विद्युतीय कारको विस्तारसँगै हाइब्रिडतर्फ आकर्षण
विद्युतीय कार विश्व अटोमोबाइल उद्योगको सबैभन्दा ठूलो प्रवृत्ति बनेको छ । वातावरणीय प्रदूषण घटाउने उद्देश्य र ब्याट्री प्रविधिको विकाससँगै ईभीको बजार विस्तार भइरहेको छ ।
तर, सन् २०२६/२७ मा ईभीको वृद्धिदर केही ढिला पर्ने अनुमान गरिएको छ । चीन र पश्चिमा देशबीचको व्यापारमा देखिएको तनाव, चिनियाँ ईभीसँग बढ्दो प्रतिस्पर्धा, चार्जिङ पूर्वाधारको अभाव, आपूर्ति शृंखलामा देखापरेको समस्यासँग सबै कार उत्पादकले लड्नु पर्ने अवस्था छ ।
त्यसैले धेरै उत्पादक हाइब्रिड प्रविधिमा पुनः जोड दिन थालेका छन् । हाइब्रिड कारले विद्युतीय मोटर र आन्तरिक दहन इन्जिन दुवै प्रयोग गर्ने भएकाले प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार चलाउन सक्नेछन् । हाइब्रिडलाई पूर्ण ईभीको तुलनामा कम पूर्वाधार भए पुग्छ ।
सफ्टवेयर-डिफाइन्ड भेहिकल
गाडीहरु अब केवल मेसिन मात्रै रहेनन् । सफ्टवेयरमा आधारित डिजिटल उत्पादन बन्दै गएका छन् । गाडीमा ब्रेकिङ, स्टेयरिङ, ड्राइभिङ, इन्फोटेनमेन्टदेखि विभिन्न सुरक्षा प्रणालीसम्म सफ्टवेयरको भूमिका ठूलो हुँदै गएको छ ।
सफ्टवेयर-डिफाइन्ड भेहिकलमा नियमित ‘ओभर-द-एयर’ अपडेटमार्फत नयाँ फिचर थप्न र गाडीको कार्यक्षमता सुधार गर्न सकिन्छ ।
सेल्फ ड्राइभिङ प्रविधि
स्वचालित ड्राइभिङ पनि कार निर्माताले लगानी गरेको अर्को महत्वपूर्ण प्रविधि हो । पूर्ण स्वचालित गाडी अझै व्यापक प्रयोगमा आउन केही वर्ष लाग्ने भए पनि लेभल–३ र केही क्षेत्रमा लेभल–४ स्वचालित प्रविधिको प्रयोग बढ्दै गएको देखिन्छ । त्यसैले कार निर्माताहरुले स्वचालित ड्राइभिङको परीक्षण र विकासलाई तीव्र बनाइरहेका छन् ।
वैकल्पिक इन्धन
ईभी जस्तै ई-फ्युल, ई-मिथेन, ई-मिथानोल जस्ता वैकल्पिक इन्धनको विकास र प्रयोगमा गाडी निर्माताहरुको चासो बढेको छ । नवीकरणीय ऊर्जाबाट उत्पादित बिजुली प्रयोग गरी कार्बनडाइअक्साइडबाट यस्ता इन्धन उत्पादन गर्ने प्रविधिमा अनुसन्धान भइरहेको छ ।
विशेषगरी युरोपमा २०३५ पछिको कार बजारमा ई-फ्युलको सम्भावनाबारे बहस बढेकाले आगामी वर्षबाट यसको परीक्षण सुरु हुने अनुमान छ ।
आपूर्ति शृंखलाको चुनौती
आपूर्ति शृंखला अस्थिर हुँदा अटोमोबाइल उद्योग निकै समस्यामा पर्दै आएको छ । सेमिकन्डक्टर, ब्याट्रीजस्ता महत्वपूर्ण सामग्रीको माग बढ्नु, दक्ष जनशक्तिको अभाव, भूराजनीतिक तनाव र विश्वव्यापी उत्पादन प्रणालीको कमजोरीले समस्या बढ्दै गएको देखिन्छ ।

