पोर्शेले ल्याउँदै १२ सय हर्सपावरको मोटरमा ‘कायेने टर्बो जीटी’

काठमाडौं । पोर्शेले आफ्नो विद्युतीय कायेने कुपे सिरिजमा नयाँ हाइ पर्फमेन्स ‘टर्बो जीटी इलेक्ट्रीक’ माडल थप गर्ने भएको छ । कम्पनीले अहिले विश्वका विभिन्न भागमा यसको परीक्षण गरिरहेको तस्बिरहरु बाहिर आएका छन् ।

पोर्शेले अहिले बिक्री गर्दै आएको कायेने कुपे इलेक्ट्रीकभन्दा पनि बढी पावर क्षमतामा नयाँ मोडल आउन लागेको हो ।

यसअघि कायेने कुपे इलेक्ट्रीक विभिन्न तीन भेरियन्टमा उपलब्ध थियो । जसको इन्ट्री भेरियन्ट ४३५ हर्स पावर, ‘एस’ भेरियन्टले ६५७ हर्सपावर र टर्बो कुपे इलेक्ट्रीकले १ हजार १३९ हर्सपावर शक्ति उत्पादन गर्छ । नयाँ आउन लागेको मोडलले १२ सय हर्स पावर प्रदान गर्ने अनुमान गरिएको छ ।

परीक्षणका क्रममा देखिएको प्रोटोटाइपको अगाडिको डिजाइन हालको टर्बो कुपे इलेक्ट्रीकसँग धेरै हदसम्म समान देखिन्छ । यद्यपि, केही भाग छोपेर परीक्षण गरेको देखिन्छ । त्यसैले हल्का डिजाइन परिवर्तन गरिएको हुन सक्ने अनुमान छ ।

यसमा नियमित मोडलकोभन्दा फरक र सट्टा हलुका तौलको ग्लोस ब्ल्याक ह्वील प्रयोग गरिएको देखिन्छ । पाङ्ग्राभित्र कार्बन–सिरेमिक ब्रेक र कालो क्यालिपर देखिन्छ ।

नयाँ टर्बो जीटीमा करिब ११३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहने छ । साथै यसमा ड्राइभिङ सिस्टम भने ‘डुअल–मोटर अल–ह्वील ड्राइभ’ प्रयोग हुने अपेक्षा गर्न सकिन्छ ।

निकै उच्च प्रदर्शन गर्ने अनुमान गरिएको नयाँ भेरियन्टले ० न्यदेखि १०० किलोमिटरसम्मको टप स्पीड केबल २.४ सेकेन्डमा भेट्टाउने छ । यसको अधिकतम गति क्षमता भने २६१ किलोमिटर प्रतिघण्टाभन्दा माथि पुग्न सक्ने सम्भावना छ ।


Back_to_top