काठमाडौं । नेपालमा जोन्टेस ब्राण्डको नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । नेपालका लागि जोन्टेसको आधिकारिक वितरक आइरन मंक नेपालले जोन्टेस जी१ १२५ मोटरसाइकल नेपाली बजारमा बिक्री सुरू गरेको हो ।
कम्पनीले जोन्टेस जी१ मोटरसाइकललाई अर्बन स्क्र्याम्बलर र स्क्र्याम्बलर टुरर गरी दुई भेरियन्टमा उपलब्ध गराएको हो । नेपाली बजारमा कम्पनीले जोन्टेस अर्बन स्क्र्याम्बलरको मूल्य ४ लाख ४० हजार रुपैयाँ र स्क्र्याम्बलर टुररको मूल्य ५ लाख १० हजार रुपैयाँ तोकेको छ ।
जोन्टेस जी१ लेभल २ अफरोडरका रूपमा डिजाइन गरिएको स्ट्रिट नेकेड र एडभेन्चर टुररका विशेषता मिसाइएको क्रसओभर मोडल हो ।
मोटरसाइकलमा १२५ सीसीको एलसी४भी, लिक्विड कुल्ड, फोर भल्व, इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १५ पीएस पावर र १३ एनएम टर्क उत्पादन गर्छ । मोटरसाइकलको इन्जिनलाई ६ स्पीडको गियरबक्ससँग जोडिएको छ । यसको टप स्पीड ११८ किलोमिटर प्रतिघण्टा रहेको छ । जसअनुसार यो सेग्मेन्टमै सबैभन्दा हाइ पावर तथा फर्फमेन्स दिने पहिलो मोडल हो ।
जी१ मा पूरा डिजिटल डिस्प्ले, टायर प्रेसर मनिटरिङ सिस्टम, असिस्ट तथा स्लिपर क्लच, डुअल च्यानल एबीएस, हब लेस डबल डिस्क ब्रेक, सुपरबाइक ग्रेड ब्याट्री सिस्टम, एयर टेम्परेचर सेन्सरसहितको फ्युल इन्जेक्सन प्रणाली, पेन्टा प्रोजेक्टर सेटअपसहितको अटोमोटिभ ग्रेड एलईडी हेडलाइट, एन्टी डाइभ यूएसडी फ्रन्ट सस्पेन्सन, डुअल यूएसबी पोर्ट, हाजार्ड लाइट लगायतका निकै एड्भान्स फिचरहरू पाउन सकिन्छ । कम्पनीले अर्बन स्क्र्याम्बलर संस्करणका २० भन्दा बढी विशेषतालाई ‘फस्ट इन सेगमेन्ट’ भएको दाबी गरेको छ ।

साथै, स्क्र्याम्बलर टुररमा रेडियली माउण्टेड ट्युबलेस क्रस स्पोक रिम तथा आल्मुनियम रियर लगेज र्याक, ग्रिप रेल र ह्विल जस्ता टुरिङ एसेसरिज स्ट्यान्डर्ड रूपमा आउँछन् ।
जोन्टेसले यसमा २० लिटर क्षमताको ठूलो ट्याकं दिएको छ । कम्पनीका अनुसार जी१ ले हाइवेमा प्रतिलिटर ६५ किलोमिटरसम्म माइलेज दिन्छ । २० लिटरको इन्धन ट्यांकले १ हजार किलोमिटरभन्दा बढी दूरी तय गर्न सकिने छ । यो मोटरसाइकल केवल प्रिमियम मात्र नभई प्रिमियम प्लस र यसमा १५ भन्दा बढी सेगमेन्ट फस्ट सुविधा रहेका छन् ।
२०२६ को जी१ १२५ ले युरो फाइभ प्लस होमोलोगेसन मापदण्ड पूरा गरेको र जिंक कोटेड ग्यालभेनाइज्ड ट्यांकले इथानोल मिसिएको इन्धनको हाइग्रोस्कोपिक प्रभाव रोक्ने कम्पनीको भनाइ छ ।
यसका अलावा युरोपेली बजारमा जोन्टेसको १५ वर्षे उपस्थितिको सम्झनामा स्पेसल लिगेसी एडिसन पनि ल्याइएको छ । दुवै भेरियन्टमा उपलब्ध यो संस्करणका लागि थप २० हजार रुपैयाँ तिर्नुपर्नेछ ।
कम्पनीले नेपाली बजारमा ३ वर्षपछि नयाँ मोडल ल्याएको हो । अघिल्ला दुई वर्ष कम्पनीले कुनै पनि मोडल आयात गरेको थिएन ।

