बागमतीमा अब मोटरसाइकलले पनि ‘कालो नम्बर प्लेट’ पाउने, दर्ता गर्न पत्राचार

काठमाडौं । बागमती प्रदेशमा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) समेत सार्वजनिक सवारीको रूपमा दर्ता हुन पाउने भएका छन् ।

प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, गुर्जुधारा, काठमाडौंलाई पत्राचार गर्दै दुईपाँग्रे सवारीलाई पनि सार्वजनिक सवारीका रूपमा दर्ता गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले २०८३ असार ३२ गतेको मन्त्रिस्तरीय निर्णय कार्यान्वयनका लागि कार्यालयलाई पत्राचार गरेको हो । मन्त्रालयले दुईपाँग्रे सवारी दर्ता र संचालनका लागि कार्यालयलाई ८ बुँदे निर्देशन दिएको छ ।

मन्त्रालयले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची ६ (खण्ड ग) अनुसार दुईपाँग्रे सवारी साधनलाई कालो नम्बर प्लेट दिने, मिटर ट्याक्सीसरह बाटो इजाजत जारी गर्ने, जाँचपास तथा प्रदूषण परीक्षण र यात्रु बीमा गर्ने व्यवस्था मिलाउन भनेको छ ।

यससँगै अब बागमती प्रदेशमा हाल संचालनमा रहेका निजी (रातो प्लेटका) मोटरसाइकल/स्कुटर सार्वजनिक सवारीको रूपमा दर्ता भई सेवा दिन पाउने भएका छन् ।

यसरी दर्ता हुने दुईपाँग्रे सवारीसाधनले मिटर भएका ट्याक्सीसरह बाटो इजाजत पाउने छन् । साथै, सार्वजनिक सवारीको रूपमा दर्ता हुने दुईपाँग्रे सवारीको प्रदूषण चेकजाँच समेत हुनेछ ।

मन्त्रालयले स्पष्ट कारण नखुलाए पनि राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न दुईपाँग्रेलाई कालो नम्बर प्लेट दिन लागेको बुझिएको छ ।

केन्द्र सरकारले काठमाडौं उपत्यकामा हाल स्कुल बस र सट्टाभर्ना हुने सवारी बाहेकका सार्वजनिक सवारी दर्ता रोकेको छ । साथै,  देशैभर राइड सेयरिङ सेवामा एकरुपता ल्याउन, व्यवस्थित बनाउन र नियमनका लागि मापदण्ड बनाइरहेको छ । तर, बागमती प्रदेशले केन्द्रको नीति विपरीत दुईपाँग्रे सवारीलाई नै सार्वजनिक सवारीको रूपमा दर्ता खुला गरेको हो ।

केन्द्र सरकारले सहरी क्षेत्रमा सार्वजनिक सवारीमा ठूला विद्युतीय बसको प्रयोगलाई प्राथमिकतामा राख्दै साना सवारीको दर्ता रोकेको हो । तर, प्रदेशले त्यसलाई नजर अन्दाज गर्दै दुईपाँग्रे सार्वजनिकको दर्ता खुलाउँदा यसले सार्वजनिक सवारी व्यवस्थापनमा केन्द्र र प्रदेश बीच द्धन्द्ध बढाउनुका साथै झन् भद्रगोल हुने देखिन्छ ।


Back_to_top