असोजमा नेपाल भित्रिए २२ ब्राण्डका विद्युतीय कार, कुन ब्राण्डका कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ असोज महिनामा २२ ब्राण्डका विद्युतीय कार (ईभी) नेपाल भित्रिएका छन् । भन्सार तथ्यांक अनुसार असोजमा २२ ब्राण्डका कुल ३ हजार ६९५ युनिट विद्युतीय कार नेपाल आएका हुन् ।

असोजमा कुल २२ ब्राण्डका विद्युतीय कार भित्रिँदा दुई ब्राण्डको मात्रै हिस्सा आधा बढी रहेको छ । असोजमा बीवाइडी र डोङफेङ ब्राण्डका मात्रै २०१९ युनिट कार आयात भएको छ । यो कुल आयातको ५४.६४ प्रतिशत हो ।

असोजमा चिनियाँ ब्राण्ड बीवाइडीको कार सर्वाधिक आयात भएका छन् । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले असोजमा सबैभन्दा धेरै ११७८ युनिट ईभी कार ल्याएको हो । कम्पनीले कोरला नाका हुँदै ती कार ल्याएको हो ।

साइमेक्सले असोजमा बीवाइडीका एटो १, एटो २ र एटो ३ मोडल ल्याएको हो । जसमा एटो २ सबैभन्दा धेरै ६३८ युनिट ल्याएको छ । त्यस्तै, एटो वान ३५० युनिट र एटो थ्री १५० युनिट भित्र्याएको छ ।

दोस्रो धेरै डोङफेङ ब्राण्डका विद्युतीय कार आयात भएको छ । एमएडब्लू वृद्धि अटोकर्पले डोङफेङका कुल ८८१ युनिट ईभी ल्याएको हो । जसमा ८२९ युनिट नामि भिगो र ५२ युनिट नामी बक्स रहेका छन् ।

तेस्रो धेरै आयात हुनेमा भारतीय ब्राण्ड टाटा रहेको छ । सिप्रदी ट्रेडिङले असोजमा कुल ५३४ युनिट ईभी भित्र्याएको हो । जसमा पन्च ईभी ३३३ युनिट, टियागो ईभी ९९ युनिट, नेक्सन ईभी ७४ युनिट र ट्याक्सीको रूपमा बिक्री हुने एक्सप्रेस टी २८ युनिट रहेका छन् ।

चौथोमा चेरी ब्राण्ड रहेको छ । नेपालका लागि चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले असोजमा कुल २७६ युनिट कार भित्र्याएको छ । कम्पनीले असोजमा आइकार भी २३ एसयूभी १२५ युनिट, जेको जे सिक्स ५१, जेको जे फाइभ र चेरी क्यू समान ५०/५० युनिट ल्याएको हो ।

असोजमा पाँचौं धेरै मलेसियन ब्राण्ड प्रोटोनका ईभी आयात भएका छन् । जगदम्बा मोटर्सले असोजमा प्रोटोनका १३७ युनिट ईभी ल्याएको हो । कम्पनीले प्रोटोन इमास ५ र इमास ७ एसयूभी आयात गरेको हो ।

छैटौंमा लिपमोटर रहेको छ । सांग्रिला मोटर्सले असोजमा लिपमोटरका कुल १२२ युनिट ईभी ल्याएको हो । कम्पनीले बी ०३एक्स, बी १० र सी १० आयात गरेको हो ।

सातौंमा एमजी (चीनमा बनेका) रहेको छ । पारामाउन्ट मोटर्सले असोजमा एमजीका कुल ११५ युनिट कार आयात गरेको हो । कम्पनीले एमजी एस ५, एस ६ लगायत मोडल आयात गरेको हो ।

आठौं धेरै केई ब्राण्डका ईभी आयात भएका छन् । लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रुपमा केईमा ८० युनिट ईभी आयात गरेका छन् ।

नवौंमा इण्डिया मेड एमजी रहेको छ । जीओ अटोमोबाइल्सले असोजमा भारतमा उत्पादन भएका एमजीका ६० युनिट कार आयात गरेको छ । कम्पनीले एमजी विण्डसर ईभी, कोमेट ईभी, हेक्टर टोमहक ईभी ल्याएको हो ।

त्यसैगरी, असोजमा जेएमईभीका ५५ युनिट, ग्रेटवाल मोटर (ओरा/हाभल) ५४ युनिट, दीपल ४५ युनिट, हुन्डाई ४० युनिट, आर्कफक्स ३९ युनिट, महिन्द्रा ३५ युनिट र वुलिङ ३० युनिट रहेका छन् ।

यी बाहेक अरू ब्राण्डको आयात भने २० युनिटभन्दा कम छ । जसमा बीएडब्लू २०, स्काइवेल १७, सिट्रोन १०, जिली ८, सुटलेज २ र होङ्छीको १ युनिट आयात भएको छ ।


Back_to_top