सुधारिएको इन्जिनसहित आयो पल्सर एन २५० एसएस

काठमाडौं । बजाजले भारतमा पल्सर एन सिरिज अन्तर्गत नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा नयाँ पल्सर एन २५० एसएस अपडेटेड मोडलको बिक्री सुरू गरेको हो । कम्पनीले भारतमा नयाँ एन २५० एसएस मोटरसाइकलको मूल्य १ लाख ५९ हजार ४०६ भारु (एक्स शोरुम) तोकेको छ ।

बजाजले नयाँ मोडलमा विभिन्न आधुनिक इलेक्ट्रोनिक फिचरहरू थपेर बजारमा उपलब्ध गराएको हो । यसको इन्जिन पर्फमेन्समा समेत सुधार गरिएको कम्पनीले जनाएको छ ।

नयाँ पल्सर एन २५० एसएसको सबैभन्दा ठूलो अपडेट यसको ४-भल्भ इन्जिन हो । यसले २५ पीएस पावर र २२ एनएम टर्क उत्पादन गर्छ । पुरानो मोडल एन २५० को २-भल्भ इन्जिनको तुलनामा यसले ०.५ पीएस पावर र ०.५ एनएम टर्क बढी दिन्छ ।

यसमा नयाँ ६-स्पीड गियरबक्स पनि दिइएको छ । यसले विशेषगरी हाइवेमा उच्च गतिमा यात्रा गर्दा इन्जिनलाई कम दबाबमा सञ्चालन गर्न र राइडिङलाई थप सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

मोटरसाइकलमा ५ इन्चको कलर टीएफटी डिस्प्ले दिइएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी, कल तथा एसएमएस अलर्ट, म्युजिक कन्ट्रोल, गुगल म्याप्स मिररिङ र आवश्यक कागजात स्टोर गर्न मिल्ने सुविधा समावेश छ । यो बजाजको अन्य पल्सरमा अपडेट गरिएको समान नयाँ टीएफटी हो ।

नयाँ मोडलमा इलेक्ट्रोनिक थ्रोटल बडी (ईटीबी) र राइड मोड उपलब्ध छ । यी फिचरसँगै पहिलेको एबीएस मोड पनि कायमै राखिएको छ ।

यसमा बाई-डाइरेक्शनल क्विकसिफ्टर दिइएको छ । जसले क्लच प्रयोग नगरी गियर अप र डाउन गर्न सहयोग गर्छ । यस बाहेक मोटरसाइकलमा एड्जस्ट गर्न मिल्ने क्लच र फ्रन्ट ब्रेक लिभर, यूएसबी टाइप-सी चार्जिङ पोर्ट, प्यानिक ब्रेक अलर्ट, हाजार्ड स्विच र अपडेट गरिएको इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम पनि नयाँ पाइन्छ ।

यसका अलावा अन्य कम्पोनेक्ट तथा फिचरहरू पुरानै प्रयोग गरिएको छ ।


Back_to_top