काठमाडौं । बीवाइडीको दोस्रो पुस्ताको सिगल (नेपालमा एटो १)ले १४० किलोमिटर/घण्टाको टायर पन्चर (ब्लोआउट) परीक्षण पूरा गर्दै सबैलाई चकित पारेको छ ।
नयाँ सिगल प्रतिघण्टा १४० किमीको स्पीडमा गुडिरहेको अवस्थामा अचानक टायर पन्चर हुँदा पनि कार आफ्नो लेनबाट विचलित नभई स्थिर रहन सफल भएको हो ।
बीवाइडीको ओसन सिरिजका महाप्रबन्धक झाङ झुओले सार्वजनिक गरेको भिडियो अनुसार सिगललाई सीधा सडकमा १४० किलोमिटर प्रतिघण्टाको गतिमा गुडाइएको छ । त्यसपछि विशेष उपकरणको सहायताले अगाडिको दायाँ टायरमा प्वाल पारिएको थियो । टायरबाट हावा तीव्र गतिमा बाहिरिए पनि कारको सन्तुलन बिग्रिएन । कारले आफ्नो दिशा कायम राख्दै सुरक्षित रूपमा गति घटाएको थियो।
सामान्यतया यस्ता अत्याधुनिक स्टेबिलिटी र ट्राक्सन कन्ट्रोल सिस्टमहरू महँगा र प्रिमियम श्रेणीका विद्युतीय कारहरूमा मात्रै पाइन्छन् । यसअघि यस्ता प्रविधि महँगा चिनियाँ विद्युतीय कार तथा प्लग-इन हाइब्रिड गाडीमा बढी देखिने गरेका थिए । यसअघि लिपमोटर डी १९ ले १२० किलोमिटर प्रतिघण्टाको गतिमा एकैपटक दुईवटा टायर फुट्ने परीक्षण गरेको विषयले चर्चा पाएको थियो । तर, कम मूल्यका विद्युतीय कारमा यस्तो उन्नत सुरक्षा प्रविधि विरलै उपलब्ध हुने गरेको छ ।

दोस्रो पुस्ताको सिगलमा ९५ किलोवाटको ‘टीजेड १६४ एक्सवाईबी’ मोटर प्रयोग गरिएको छ । जसले गर्दा यो गाडी अधिकतम १५० किमी प्रतिघण्टाको गतिसम्म कुद्न सक्छ ।
नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३०.१ किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्रीप्याक छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । ३९.२ किलोवाट ठूलो ब्याट्री भएको ३ भेरियन्टमा फ्ल्यास चार्जिङ सुविधा छ । जसबाट यो कारलाई ५ मिनेटमै १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
रियर ह्वील ड्राइभ सिस्टम रहेको नयाँ सिगलमा मल्टि लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र ४.९५ मिटरको टाइट टर्निङ रेडियस पनि रहेको छ । नयाँ सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ ।

यसको क्याबिन पनि प्रियिमम र आकर्षक छ । क्याबिनमा परिष्कृत सामग्रीहरू र तीन वटा नयाँ रङ संयोजनहरू (शेल ह्वाइट, क्लियर स्काई पिंक र पोलर स्टार ग्रे)सहितको होरिजेन्टल लेआउट रहेको छ । यसमा डिपसिक एआईद्वारा संचालित १५.६ इन्चको डिस्प्लेमा आधारित डिलिंक १५० इन्टेलिजेन्ट ककपिट प्रणाली छ ।
नयाँ एटो वानमा चालकको लागि ६ तरिकाले एडजस्ट गर्न मिल्ने सिट र अगाडि बस्ने यात्रीको लागि ४ तर्फबाट पावर एडजस्टेबल सिट, अगाडिका दुवै सिटमा हिटेड र भेन्टिलेटेड सुविधा, चालकका लागि मसाज सिट, ५० वाटको वायरलेस फोन चार्जिङ, १२७ रङको एम्बियन्ट लाइटिङ र ८ स्पीकर अडियो सिस्टम छ ।
नयाँ सिगलमा वैकल्पिक रुपमा लाइडार सुविधा उपलब्ध छ । यो प्रणाली बीवाइडीको डीपाइलट ३०० (गड्स आई बी) लेभल २ ड्राइभिङ एसिस्टेन्स प्रणाली (एडास)सँग सम्बन्धित छ।

