काठमाडौं । चीनको अग्रणी ब्याट्री उत्पादक कम्पनी सीएटीएलको तेस्रो पुस्ताको शेनसिङ सुपरफास्ट चार्जिङ ब्याट्रीको प्रयोग गर्ने अधिकार लिन डोङफेङ मोटरले प्रयास गरिरहेको छ । यसका लागि कम्पनीले सन् २०२६ को दोस्रो त्रैमासदेखि नै सीएटीएलसँग निरन्तर वार्ता गरिरहेको चिनियाँ समाचार माध्यमहरुले जनाएका छन् ।
सीएटीएलले अप्रिल २१ मा सार्वजनिक गरिएको तेस्रो पुस्ताको शेनसिङ ब्याट्रीले सामान्य तापक्रममा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन जम्मा ३ मिनेट ४४ सेकेन्ड लगाउने दाबी गरिएको छ । पूर्ण चार्ज हुन करिब ६ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ । यो प्रविधिले बीवाइडीको फ्ल्यास चार्जिङलाई समेत चुनौती दिएको छ ।
डोङफेङले यो ब्याट्रीको पहिलो प्रयोग अधिकार प्राप्त गर्न खोज्नुको मुख्य उद्देश्य आपूर्ति सुनिश्चित गर्नु र ब्याट्रीको मूल्यमा प्रतिस्पर्धात्मक लाभ लिनु हो ।
अक्टोबर २९ मा डोङफेङ र सीएटीएलबीच समूहस्तरीय रणनीतिक सहकार्य सम्झौता पनि भएको छ । सम्झौताअनुसार दुवै कम्पनीले सुपरफास्ट चार्जिङ र ब्याट्री स्वापिङलाई एकीकृत गर्दै नयाँ ऊर्जा पूर्वाधार विकास गर्नेछन् ।
डोङफेङअन्तर्गतका भोयाह, एम हिरो र एपिकल्यान्ड ब्राण्डका गाडीमा १० सी वा सोभन्दा बढी क्षमताका सुपरफास्ट चार्जिङ प्रविधि प्रयोग गर्ने योजना कम्पनीले अघि सारेको छ ।
सीएटीएलले ब्याट्री उत्पादनमा मात्रै सीमित नभई चार्जिङ र ब्याट्री स्वापिङ नेटवर्क विस्तारलाई पनि प्राथमिकता दिएको छ । कम्पनीले यस वर्षको अन्त्यसम्म ३ हजारभन्दा बढी एकीकृत चार्जिङ तथा ब्याट्री स्वापिङ स्टेसन संचालनमा ल्याउने लक्ष्य राखेको छ ।

