नाडामा बुकिङ गर्नेले पाउन थाले ‘स्काइवेल बीई-११’

काठमाडौं । एलआरआर ग्रुपले चिनियाँ विद्युतीय कार ब्राण्ड स्काइवेलको बीई-११ एसयूभी ग्राहकलाई डेलिभरी दिन थालेको छ । कम्पनीले नाडा अटो शो २०२६ मा बुकिङ गरेका ग्राहकलाई गाडी उपलब्ध गराउन थालेको हो ।

नाडा अटो शो २०२६ मा नयाँ डिलरसिपमार्फत नेपालमा बिक्री सुरु गरिएको स्काइवेल बीई-११ ले ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको थियो । कम्पनीले बुकिङ गरेका ग्राहकलाई क्रमशः गाडी हस्तान्तरण गर्न थालेको हो ।

एलआरआरले स्काइवेल बीई-११ लाई दुई फरक ब्याट्री अप्सनमा नेपाल ल्याएको छ । यसमा ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री उपलब्ध छ । सानो ब्याट्री भएको मोडलले एकपटकको फुल चार्जमा ४१० किलोमिटर र ठूलो ब्याट्री भएको मोडलले ५२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

दुवै ब्याट्री अप्सनमा १५० किलोवाट क्षमताको मोटर दिइएको छ । डीसी फास्ट चार्जर प्रयोग गर्दा ३५ मिनेटमा ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

बीई ११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, आधुनिक इन्टेरियर र १९८ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता फिचर छन् ।
कम्पनीले ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसैमा कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार र लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

लङ रेन्ज ५२० किलोमिटर पाइने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top