हिरो एक्सपल्स ४५० इटालीमा सार्वजनिक, सेग्मेन्टकै पहिलो फिचरहरु उपलब्ध

काठमाडौं । हिरो मोटोकर्पले यार्ली इन्स्पायर मोटरसाइकल एक्सपल्स ४५० सार्वजनिक गरेको छ ।

कम्पनीले इटालीको मिलानमा जारी इक्मा अटो शो २०२६ मा नयाँ एक्सपल्स ४५० सार्वजनिक गरेको हो ।

नयाँ एक्सपल्सको नामा ४५० उल्लेख भए पनि यसमा ४२१ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर, एफआई इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ४६.७ बीएचपी र ३८ एनएम टर्क उत्पादन गर्छ ।

इन्जिनमा ६ स्पिड गियरबक्स दिइएको छ भने स्लिप एन्ड असिस्ट क्लचलाई स्ट्यान्डर्ड फिचरका रूपमा उपलब्ध गराइएको छ ।

एक्सपल्स ४५० झट्ट हेर्दा एड्भेन्चर मोटरसाइकल जस्तो देखिएपनि यो डकार यार्ली मोडलसँग प्रभावित डिजाइनमा तयार पारिएको छ । यो प्रडक्सन मोडलमा आउँदा भने केही फरक आउने अनुमान गर्न सकिन्छ ।

कम्पनीले सार्वजनिक गरेको मोटरसाइकलमा सेतो रङमा रातो तथा कालो ग्राफिक्स प्रयोग गरिएको छ । यसमा गोल्डेन फिनिसको स्पोक ह्विल र ब्रन्ज कलरको इन्जिन कभरले थप आकर्षक बनाएको छ ।

मोटरसाइकलमा अग्लो विन्डस्क्रिन, भर्टिकल डिजाइनको हेडलाइट, ह्यान्डगार्ड, एङ्गुलर मिरर र फराकिलो ह्यान्डलबार दिइएको छ । लामो सिंगल पिस सिट र साँघुरो बडी डिजाइनले अफरोड राइडिङका लागि सहज बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, यसमा अपस्वेप्ट एग्जस्ट, मेटालिक हिट सिल्ड, पछाडिको लगेज ‍र्याक तथा लगेज राख्न मिल्ने माउन्टिङ पोइन्टहरू दिइएका छन्। इन्जिनको सुरक्षाका लागि ठूलो बास प्लेट, रेडिएटर गार्ड र ट्युबुलर प्रोटेक्सन बाससमेत उपलब्ध छ ।

अफरोड राइडिङलाई ध्यानमा राखेर एक्सपल्समा २१ इन्चको अगाडिको चक्का दिइएको छ । यसमा ब्लक प्याटर्न टायरसहित स्पोक ह्विल प्रयोग गरिएको छ ।

अगाडि गोल्डेन फिनिसको अपसाइड डाउन (यूएसडी) फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । दुवै चक्कामा डिस्क ब्रेक र एबीएस उपलब्ध छ ।

नयाँ एक्सपल्सको सबैभन्दा आकर्षक पक्षमध्ये यसको ठूलो टीएफटी इन्स्ट्रुमेन्ट डिस्प्ले पनि एक हो । यसमा रेन, रोड, ट्रेल र अफरोड गरी चारवटा राइडिङ मोड, क्रुज कन्ट्रोल, ट्रयाकसन कन्ट्रोल पनि उपलब्ध छ ।

त्यस्तै, ट्र्याक्सन कन्ट्रोल, थ्रोटल म्यापिङ र एबीएस सेटिङसमेत डिस्प्लेमार्फत नियन्त्रण गर्न सकिने देखाइएको छ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्टसमेत रहने बताइएको छ ।

 


Back_to_top