लामो यात्रापछि ईभीको हेरचाह कसरी गर्ने ? थाहा पाउनुहोस् १० कुरा

काठमाडौं । विद्युतीय कारमा लामो यात्रा गरेर फर्केपछि गाडीलाई दुस्त राख्न के गर्ने भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ । ईभी विश्वकै लागि नयाँ टेक्नोलोजी हो । त्यसैले यसका धेरै पक्ष सबैले बुझेकै हुन्छ भन्ने छैन ।

नेपालका पहाडी सडक, उकालो–ओरालो, खाल्डाखुल्डी, ग्राभेल र हिलोयुक्त बाटोमा यात्रा गर्दा गाडीका विभिन्न पार्टपुर्जामा असर पर्न सक्छ । त्यसैले यात्रापछि सामान्य निरीक्षण र आवश्यक मर्मत गरेर गाडीको पुनः प्रयोग थालेको खण्डमा भविष्यमा आउने खर्च र सुरक्षा दुबै हिसाबले राम्रो हुन्छ ।

ईभीको सबैभन्दा महँगो कम्पोनेन्ट ब्याट्री भएकाले यसको सुरक्षादेखि टायर, ब्रेक र सस्पेन्सनसम्मका विषय चेक गरेर पुनः प्रयोग थाल्दा राम्रो हुन्छ । यस बाहेक अन्य कुन कुन कुरामा ध्यान दिने भन्ने बारेमा तल चर्चा गरिएको छ ।

टायरको कन्डिसन र प्रेसर चेक गर्ने

लामो यात्रापछि सबैभन्दा पहिले टायर जाँच गर्नुपर्छ । टायरमा असामान्य घिस्रावट, चिरापरेको, काटिएको वा फुलेको भाग छ कि छैन एकिन गर्नुपर्छ । ढुंगा वा काँटी अड्किएको छ भने बनाएर टायर प्रेसर मिलाउनुपर्छ ।

ब्रेक सिस्टम जाँच गर्ने

ईभीमा रिजेनेरेटिभ ब्रेकिङ हुने भएकाले मेकानिकल ब्रेकको प्रयोग तुलनात्मक रूपमा कम हुन्छ । तर, लामो ओरालो र लगातार ब्रेकिङले ब्रेक प्याड तथा डिस्कमा असर पारेको छ वा छैन एकिन गर्दा राम्रो हुन्छ । ब्रेक लगाउँदा आवाज आउने, कम्पन हुने वा ब्रेकिङ क्षमता कमजोर भएको भए मेकानिकको सहायता लिने ।

अन्डरबडी जाँच गर्ने

पहाडी खराब बाटाहरुको यात्रा गरेर आउनु भएको छ भने गाडीको तल्लो भाग कतै ठोकिएको जस्तो लागेको छ भने अन्डरबडी जाँच गराउनु पर्छ । त्यसैले अन्डरबडीमा ठोक्किएको चिह्न, डेन्ट वा तरल पदार्थ चुहावट छ वा छैन एकिन गर्नुपर्छ ।

सस्पेन्सन र स्टेयरिङ जाँच गर्ने

लामो यात्रामा खाल्डाखुल्डी र ग्राभेल सडकका कारण सस्पेन्सनमा दबाब परेको हुन सक्छ । शक एब्जर्बरबाट आयल चुहिएको, स्टेयरिङ घुमाउँदा आवाज आएको वा गाडी एकातिर मात्रै तानिएको जस्तो लाग्छ भने दक्ष प्राविधिक मार्फत जाँच गराउनुपर्छ ।

कुलिङ सिस्टम सफा गर्ने

ईभीको ब्याट्री, मोटर र पावर इलेक्ट्रोनिक्सलाई उचित तापक्रममा राख्न कुलिङ सिस्टमको भूमिका महत्वपूर्ण हुन्छ । लामो यात्रापछि एयर इन्टेक, रेडिएटर तथा हीट एक्सचेन्जरमा धुलो र फोहोर जमेको हुन सक्छ । त्यसलाई सफा गर्दै कुल्यान्ट पनि जाँच गर्नुपर्छ ।

चार्जिङ पोर्टको निरीक्षण गर्ने

यात्राका क्रममा विभिन्न स्थानका डीसी चार्जर प्रयोग गरिएको हुन्छ । त्यसैले चार्जिङ पोर्टमा धुलो, पानी वा फोहोर बसेको छ वा छैन एकिन गर्नुपर्छ । केबल र कनेक्टरमा चिरा परेको, जलेको वा असामान्य ताप आएमा चार्जिङ तत्कालै रोक्नुपर्छ ।

ब्याट्री चार्जिङमा ध्यान दिने

यात्राबाट फर्किँएपछि हाइ भोल्टेज ब्याट्रीलाई आफ्नो निरानीमा फुलचार्ज गर्नु उपयुक्त हुन्छ ।

गाडी राम्रोसँग सफा गर्ने

लामो यात्रा गर्दा गाडीको बडी, इन्टेरियर र अन्डरबडी फोहोर भएको हुन्छ । यसलाई राम्रोसँग सफा गर्नु पर्छ । ह्वील आर्च, क्यामेरा, सेन्सर र विन्डस्क्रिनसमेत सफा गर्नुपर्छ ।

ड्यासबोर्डमा भएका साइनेजहरू एकिन गर्ने

ब्याट्री म्यानेजमेन्ट सिस्टम, मोटर कन्ट्रोलर र अन्य इलेक्ट्रोनिक प्रणालीमा कुनै चेतावनी देखाइएको छ वा छैन एकिन गर्नुपर्छ । यदि, वार्निङ देखाएको छ भने सर्भिस सेन्टरमा लगेर डायग्नोस्टिक स्क्यान गराउनुपर्छ ।

१२ भोल्ट ब्याट्री जाँच गर्ने

ईभीमा मुख्य ब्याट्रीका अतिरिक्त १२ भोल्टको सहायक ब्याट्री पनि हुन्छ । यसको अवस्था, हेडलाइट, इन्डिकेटर, ब्रेक लाइट, वाइपर, एयर कन्डिसन र केबिन एयर फिल्टरसमेत जाँच गर्नुपर्छ ।ल


Back_to_top