जेटोरले आकर्षक मूल्यमा ल्यायो टीएक्स ईभी, नेपाल पनि आउने

काठमाडौं । जेटोरले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभी ‘जेटोर टीएक्स’ चीनमा बिक्री थालेको छ । कम्पनीले चीनमा विभिन्न ५ भेरियन्टमा प्योर ईभीको बिक्री थालेको हो ।

चिनियाँ बजारमा जेटोर टीएक्स एसयूभीको मूल्य १४ हजार ९०० देखि २१ हजार ८०० अमेरिकी डलरसम्म कायम गरिएको छ । यो मूल्यलाई निकै आकर्षक मान्न सकिन्छ ।

कम्पनीले टीएक्स एसयूभीलाई रियर ह्वील ड्राइभ (आरडब्लूडी) र अल ह्वील ड्राइभ (एडब्लूडी) विकल्पमा उपलब्ध गराएको छ । यसको टप भेरियन्टमा ‘फाल्कन ५०० प्लस’ नामको अत्याधुनिक चालक सहायता प्रणाली (एडास) उपलब्ध छ ।

‘स्क्वायर–सर्कल सिम्बायोसिस’ डिजाइन अवधारणा जेटोर टीएक्स बनाइएको हो । त्यसैले यसको लुक बक्सी छ भने गोलाकार रेट्रो डिजाइनका हेडलाइट पाउन सकिन्छ । अगाडिका दुवै हेडलाइटलाई जोड्न कालो ट्रिम स्ट्रिप प्रयोग गरिएको छ ।

यसमा अगाडि बोनेटमा १५० लिटरको फ्रंक उपलब्ध छ । एसयूभीको लम्बाइ ४६०५ एमएम, चौडाइ १८८० एमएम र उचाइ १७०० एमएम छ । ह्विलबेस पनि २७३५ एमएम लामो छ ।


जेटोर टीएक्सको इन्टेरियरमा अब्सिडियन ब्ल्याक र एलिगेन्ट ब्राउन गरी दुई कलरमा छनोट गर्न सकिने छ । यसको डिजिटल ककपिट क्वालकम स्न्यापड्रागन ८१५५ र ८७७५ चिपसेटबाट संचालित छ । यसमा टुर ओएस इन्टेलिजेन्ट सिस्टम प्रयोग गरिएको छ ।

एसयूभीमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रीन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । यसले हुवावे हाइकार, एप्पल कारप्ले र कारलिंकलाई समेत सपोर्ट गर्छ ।

यसमा दिइएको फाल्कन ५०० प्लस एडास सिस्टमले हाइवे एनओए, अटोमेटिक पार्किङ, रिमोट पार्किङ, मेमोरी पार्किङ र ट्रयाकिङ रिभर्सजस्ता सुविधा दिनेछ ।
जेटोर टीएक्समा चेरीले उत्पादन गरेको ६५ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) प्रविधिमा आधारित ‘राइनो’ ब्याट्री प्याक दिएको छ । यसले एकपटकको पूर्ण चार्जमा डब्लूएलटीपी रेन्ज नै ४४६ किलोमिटर दिने बताइएको छ ।

यसको रियर ह्वील ड्राइभ भेरियन्टमा २०० किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले २६८ हर्सपावर र २८५ एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै, अल ह्वील ड्राइभ भेरियन्टमा २७५ किलोवाट अर्थात् ३६९ हर्सपावरको संयुक्त मोटर पावर दिइएको छ । यसले ४२७ एनएम टर्क उत्पादन गर्छ । यो भेरियन्टले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.५ सेकेण्डमा पूरा गर्छ ।


जेटोरले टीएक्स एसयूभीमा अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट र पछाडि फाइभ लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरेको छ । यसले सडकको अवस्था र ड्राइभिङ आवश्यकता अनुसार आरामदायी यात्रा तथा स्थिरता प्रदान गर्ने छ ।

छिट्टै आउने छ नेपाल

नेपालको लागि लक्ष्मी मोटरहबले जेटोर ब्राण्डका गाडी हालै मात्र उपलब्ध गराएको हो । कम्पनीले हाइब्रिड मोडल जेटोर टी २ र टी १ नेपालमा बिक्री थालेको छ ।

सम्भवतः २०२७ को पहिलो क्वाटरमा नै जेटोर टीएक्स ईभी नेपाली बजारमा उपलब्ध हुनेछ । चीनको सुरूवाती अफर मूल्य हेर्दा नेपालमा आकर्षक मूल्यसहित टीएक्स एसयूभी नेपालमा बिक्री सुरू हुनेछ ।


Back_to_top