काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सव मनाएको छ । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले डिजिटल कर्जा (फोन लोन), बाइ नाउ पे लेटर (बीएनपीएल) क्रेडिट कार्ड र अनलाइन लोन एप्लिकेसन पोर्टल संचालनमा ल्याएको छ ।
बैंकको प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त नयाँ वित्तीय सेवाहरूको शुभारम्भ गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले उत्पादनशील क्षेत्र र उद्यमशीलता प्रवद्र्धनमा बैंकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना तथा मझौला व्यवसायमा कर्जा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले बैंकलाई संस्थागत सुशासन, वित्तीय अनुशासन र उच्च व्यावसायिक कार्यसम्पादन कायम राख्न निर्देशन दिँदै डिजिटल रूपान्तरण तथा वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
नेपाल बैंकले हाल देशभर २३० वटा शाखा २५० वटा एटिएमका साथै ५७ वटा एक्सटेन्सन काउन्टरको सञ्जाल मार्फत २९ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ । यस बैंकले अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै बैंकिङ क्षेत्रमा आफूलाई बलियो प्रतिस्पर्धिको रूपमा परिचित गराएको छ ।
प्रविधिमैत्री सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरूप बैंकका करीब १६ लाख ग्राहकहरू डिजिटल सेवा सुविधाबाट लाभान्वित भएका छन् । समयानुकूल बैंकले छिटोछरितो, गुणस्तरीय तथा गुनासो रहित ग्राहक सेवामा जोड दिई युवा तथा दक्ष जनशक्ति मार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकको उक्त वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने ३ जना तथा २० वर्ष अटुट सेवा गर्ने १० जना कर्मचारीहरूलाई दीर्घसेवा कदर स्वरूप पदक तथा प्रशंसापत्र प्रदान गर्दै प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धी हासिल गर्ने १२ शाखाहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
त्यसैगरी, प्राकृतिक विपत्तीको प्रतिकूल अवस्थामा पनि बैंकिङ सेवा सुचारुरूपले सञ्चालन गरेका त्रिशुली र धुन्चे शाखालाई सम्मानित गरिएको तथा स्याफ्रुबेशी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा)मा विषम परिस्थितिमा पनि बैंकको सम्पत्तिको साहसपूर्वक संरक्षण गर्नु हुने कर्मचारी तथा सुरक्षकहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

