काठमाडौं । महिन्द्राको विद्युतीय एसयूभी एक्सईभी ९ एसले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ प्राएको छ। एडल्ट अकुपेन्ट प्रोटेक्सन र चाइल्ड अकुपेन्ट प्रोटेक्सन दुवै विधामा ५ स्टार प्राप्त गर्दै एक्सईभी ९ एस भारत एनक्यापमा परीक्षण भएको पहिलो ७ सिट क्षमताको विद्युतीय एसयूभी बनेको हो ।
भारत एनक्यापको परीक्षणमा एक्सईभी ९ एसले एडल्ट अकुपेन्ट प्रोटेक्सनतर्फ ३२ पूर्णाङ्कमा ३१.१५ अंक प्राप्त गरेको छ । त्यस्तै, चाइल्ड अकुपेन्ट प्रोटेक्सनतर्फ ४९ पूर्णाङ्कमा ४५ अंक हासिल गरेको छ । दुवै विधाको संयुक्त अंकका आधारमा यसले ७६.१५ अंक प्राप्त गरेको हो ।
यससँगै एक्सईभी ९ एस भारत एनक्यापमा परीक्षण भएका पेट्रोल, डिजेल र विद्युतीय सबै प्रकारका ७ सिटे एसयूभीमध्ये अहिलेसम्मकै उच्च अंक प्राप्त गर्ने मोडल बनेको छ ।
७ सिट क्षमताका अन्य गाडीसँग तुलना गर्दा महिन्द्राकै एक्सयूभी ७ एक्सओले ७५.७३ अंक प्राप्त गरेको छ । त्यस्तै, टोयोटा इनोभा हाइक्रसले ७५.४७, मारुती इन्भिक्टोले ७५.४३ र टाटा सफारीले ७४.६२ अंक पाएका छन् ।
समग्र परीक्षण सूचीमा भने एक्सईभी ९ एस छैटौं स्थानमा रहेको छ । महिन्द्रा एक्सईभी ९ई र टाटा ह्यारियर ईभीले समान ७७ अंक प्राप्त गर्दै पहिलो स्थान ओगटेका छन् । महिन्द्रा बीई ६ ले ७६.९७, किया सेल्टोसले ७६.७० र टाटा पन्च ईभीले ७६.४६ अंक प्राप्त गरेका छन् ।
आईएनजीएलओ प्लेटफर्मका तीनवटै ईभीलाई ५ स्टार
महिन्द्राको आईएनजीएलओ प्लेटफर्ममा आधारित एक्सईभी ९एसले ५ स्टार प्राप्त गरेसँगै यो प्लेटफर्ममा बनेका तीनवटै विद्युतीय गाडीले भारत एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएका छन् । यसअघि एक्सईभी ९ई र बीई ६ ले पनि ५ स्टार प्राप्त गरिसकेका छन् ।
महिन्द्राले एक्सईभी ९ एसलाई सन् २०२५ नोभेम्बरमा भारतीय बजारमा सार्वजनिक गरेको थियो । भारतमा यसको सुरुवाती मूल्य १९.९५ लाख भारु (एक्स सोरुम) तोकेर बिक्री गर्दै आएको छ । यसमा ५९, ७० र ७९ किलोवाट आवरका तीनवटा ब्याट्री विकल्प उपलब्ध छन् ।
भेरियन्टअनुसार सुरक्षा फिचर फरक छन् । सुरुका भेरियन्टमा ६ वटा एयरब्याग उपलब्ध छन् भने माथिल्लो भेरियन्टमा ड्राइभर नी एयरब्याग थपिएर ७ वटा एयरब्याग रहेका छन्। उच्च भेरियन्टमा पाँचवटा राडार र अगाडिको क्यामेरासहित लेभल २ प्लस एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) समेत उपलब्ध छ ।

