काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रीक ब्राण्ड भिडाअन्तर्गत निर्माण गरेको नयाँ इलेक्ट्रीक मोटरसाइकल यूबीएक्सको परीक्षण सुरू गरेको छ । कम्पनीले भारतीय सडकमा यूबीएक्स मोटरसाइकलको परीक्षण थालेको हो ।
हिरोले सन् २०२५ को इटालीमा आयोजित इक्मा अटो शोमा भीएक्सजेड र यूबीएक्स गरी दुई इलेक्ट्रीक मोटरसाइकल कन्सेप्ट सार्वजनिक गरेको थियो । सन् २०२६ को इक्मा शोमा यी मोडलका प्रोटोटाइप प्रदर्शन गरिएको थियो । अहिले तीमध्ये यूबीएक्स मोडल परीक्षणका क्रममा देखिएको हो । स्पाई तस्बिरले यो मोटरसाइकल उत्पादनको अन्तिम चरणनजिक पुगेको संकेत गर्छ ।
भारी क्यामोफ्लाजमा देखिएको मोटरसाइकलमा स्पोर्टी स्ट्रिट बाइक डिजाइन छ । यसमा सिंगल एलईडी प्रोजेक्टर हेडलाइट, स्लिम एलईडी इन्डिकेटर र फ्लाइस्क्रीनको स्वरूपमा इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा स्ट्रेट स्पोक ह्वील प्रयोग भएकाले यो भीएक्सजेडभन्दा यूबीएक्स कन्सेप्टसँग बढी मिल्दोजुल्दो देखिन्छ ।
मोटरसाइकलमा अगाडि यूएसडी फर्क, पछाडि मोनोशक सस्पेन्सन, दुवैतर्फ डिस्क ब्रेक र डुअल च्यानल एबीएस पाउन सकिने अनुमान छ । ब्याट्री प्याक इन्जिन रहने स्थानमा राखिनेछ भने मिड माउण्टेड इलेक्ट्रीक मोटर, आकर्षक स्विङआर्म, अल एलईडी लाइटिङ र स्टेपसहितको सिंगल पिस सिट रहने सम्भावना छ ।
त्यस्तै, हेडलाइटमुनिको बीक डिजाइन, ठूलो रियर टायर हगर, चेन ड्राइभ सिस्टम र टीएफटी डिस्प्ले पनि उत्पादन संस्करणमा उपलब्ध हुन सक्छन् ।
हालसम्म कम्पनीले यसको ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, अन्य फिचर र लन्च मिति बारे कुनै आधिकारिक जानकारी दिएको छैन ।

