कर्णाली करिडोरकाे थप ८० किमी कालोपत्र गर्न लाग्यो ठेक्का, ३ वर्षमा सक्ने

फाइल तस्बिर ।

काठमाडौं । कर्णाली प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक कर्णाली करिडोर अन्तर्गत थप ८० किलोमिटर सडक कालोपत्र गर्न ठेक्का लगाइएको छ ।

कर्णाली करिडोर योजनाले थप ८० किमी सडक कालोपत्र गर्न कम्पनी छनोट गरेको हो । कुल ८० किमी सडकलाई ५ प्याकेजमा विभाजन गरी कुल ४ अर्ब ३ करोड ८९ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।

कालिकोटको खुलालुदेखि चिनियाँ नाका हिल्सासम्म जोड्ने २६९ किमी लामो कर्णाली करिडोरलाई दुईखण्डमा विभाजन गरी निर्माण भइरहेको छ । दक्षिण खण्ड (खुलालु–सलीसल्ला) १२३ किमी र उत्तर खण्ड (सिमिकोट–हिल्सा १४६ किमी) रहेको छ । सो मध्ये आयोजनाले दक्षिण खण्डको थप ४१ किमी (तीन प्याकेज) र उत्तर खण्डको ३९ किमी (दुई प्याकेज) सडक कालोपत्र गर्न नयाँ ठेक्का लगाएको हो ।

दक्षिणखण्ड अन्तर्गत कालीकोटको खुलालु–कोट १३ किमी सडक कालोपत्रको ठेक्का एम/एस यति बिल्डर्स प्रालि, सातदोबाटोले ७५ करोड ३१ लाख ३८ हजार ७१ रुपैयाँ (भ्याट बाहेक) पाएको हो ।

त्यस्तै, भुक्का खोला–पिलुचौर १५ किमीको एम/एस लामा–सुनकोशी जेभीले ७० करोड ४६ लाख ६६ हजार १६० र हुम्लाको तुम्चा–सल्लीसल्ला १३ किमीको एम/एस प्यासिफिक इन्जिनियरिङ कम्पनीले ७२ करोड ४७ लाख २६ हजार ३६ रुपैयाँमा पाएको हो ।

पूर्वाधर विकासमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको दक्षिण खण्ड स्तरोन्नतिका लागि ३ अर्ब बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिए । यससँगै बजेट अभावका कारण निर्माण अघि बढ्न नसकेको सडको काम अब अघि बढ्ने उनको भनाइ छ ।

त्यसैगरी, उत्तरखण्ड अन्तर्गत हुम्लाको खार्पुनाथ–खरिखेत १८.२ किमीको ठेक्का एम/एस दिव्यज्योति कन्स्ट्रक्सनले ८५ करोड ६२ लाख १६ हजार ६१४ रुपैयाँ (भ्याट र पीएस सहित) पाएको छ ।

त्यस्तै, खरिखेत–सल्लीसल्ला २०.८ किमी सडक स्तारोन्नति तथा कालोपत्रको ठेक्का एम/एस एसकेसीपीएल/बीएनटी/बागमती ज्वाइन्ट भेन्चरले १ अर्ब ७९ लाख ४२ हजार ६८८ रुपैयाँमा पाएको हो । नयाँ ठेक्का लागेको सडक आगामी ३ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।

थप ८० किमीको नयाँ ठेक्का लागेसँगै कर्णाली करिडोरको कुल १३० किमी सडक कालोपत्र हुने भएको छ । यसअघि दक्षिणखण्ड अन्तर्गत पिलुचौर–कुवाडी (२३.७ किमी) र कुवाडी–तुम्चा (२७.३ किमी) गरी कुल ५० किमी सडक कालोपत्र गर्न ठेक्का लगाइएको थियो । पिलुचौर–कुवाडी खण्डको ठेक्का एमरएस पीएस कन्स्ट्रक्सनले ९७ करोड ७८ लाख र कुवाडी–तुम्चा खण्डको एमरएस कोन्टेकरसिंह जेभीले १ अर्ब ४ करोड ९९ लाख रुपैयाँमा पाएको छ । दुवै खण्डमा हाल धमाधम काम भइरहेको छ ।

खार्पुनाथदेखि सल्लीसल्लासम्म ३९ किमी सडक स्तरोन्नति गर्न कम्पनी छनोट गरिएको उत्तर खण्डका निमित्त योजना प्रमुख बेलबहादुर नेपालीले बताए । उनले अब चाँडै निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइने बताए ।

‘खार्पुनाथदेखि सल्लीसल्लासम्म ३९ किमी सडक स्तरोन्नति गर्न वहुवर्षिय ठेक्का अन्तर्गत कम्पनी छनोट गरिएको छ । अब चाँडै छनोट भएका कम्पनीहरूसँग ठेक्का सम्झौता गरी काम अघि बढाइन्छ,’ उनले मेरोअटोसँग भने ।

उत्तरखण्डकै हुम्ला सदरमुकाम सिमिकोटदेखि चिनियाँ नाका हिल्सासम्म करिब ९५ किमी सडक चीन सरकारले दुई लेनमा विस्तार गरिदिने भनिए पनि अझै टुंगो लागेको छैन । २०८२ असारमा चिनियाँ टोली आएर फिजिबिलिटी स्टडी गरेका थिए । त्यसपछि चिनियाँ पक्ष सम्पर्कमा नआएको उनले बताए । अब नेपाल सरकारले नै डीपीआर तयार गरी काम अघि बढाउने योजना रहेको उनले बताए ।

अर्थ मन्त्रालयले कर्णाली करिडोरको दुवै (उत्तर र दक्षिण खण्ड) स्तरोन्नति गर्न गत वर्ष कुल ६ अर्ब ११ करोड १७ लाख बजेटको स्रोत सुनिश्चित गरेको छ ।

कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । यो कर्णाली प्रदेशको लाइफलाइन सडक समेत हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्छ । यो सडक दुई लेनमा स्तरोन्नति भएपछि कर्णाली प्रदेशलाई मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने छ । कर्णालीबासीको दैनिक जीवनयापन सहज हुनुकै साथै पर्यटन प्रबद्र्धन र वैदेशिक व्यापार समेत बढ्ने विश्वास छ ।


Back_to_top