काठमाडौं । जेटोरले आफ्नो प्रिमियम अफरोड एसयूभी जी-७०० को विशेष संस्करण ‘जी-७०० आर्क एडिसन’ मार्फत जमिनसँगै पानीमा समेत चल्न सक्ने प्रविधि देखाएको छ ।
कम्पनीले अक्टोबर २२ मा आयोजना गरेको ‘२०२६ जेटोर ग्लोबल टेक्नोलोजी एक्सपिरियन्स डे’ मा जी-७०० आर्क एडिसनले पानीमा नेभिगेसन सम्बन्धी आपत्कालीन परीक्षण सफलतापूर्वक पूरा गरेको जनाएको छ ।
जेटोरको जी सिरिजका लागि निर्माण गरिएको विशेष परीक्षण केन्द्रमा सम्पन्न उक्त परीक्षणमा विश्वका विभिन्न देशका संचारकर्मीले समेत गाडी चलाएर अनुभव लिएका थिए । जेटोरका अनुसार उक्त परीक्षणले उत्पादनका लागि तयार गरिएको एसयूभीमा जमिन र पानी दुवैमा संचालन हुन सक्ने ‘एम्फिबियस प्रविधि’को क्षमता परीक्षण भएको छ ।
सामान्यतया अफरोड एसयूभीहरू कठिन पहाडी बाटो, हिलो, बालुवा, ढुंगा तथा खोलानाला पार गर्न सक्षम हुने गरी निर्माण गरिन्छन् । तर, जेटोरले जी-७०० आर्क एडिसन पानीमै निश्चित दिशामा अघि बढ्न सक्ने प्रविधि प्रस्तुत गरेको हो ।
के हो जेटोरको गाया आर्क टेक प्रविधि ?
जी-७०० आर्क एडिसनमा जेटोरको ‘गाया आर्क टेक’ (GAIA Ark Tech) प्रविधि प्रयोग गरिएको छ । यो कम्पनीको अल-टेरेन मोबिलिटी प्रणाली अन्तर्गत विकास गरिएको हो । विशेषगरी आपत्कालीन उद्धार, कठिन भौगोलिक क्षेत्रमा यात्रा तथा जोखिमपूर्ण स्थानमा संचालन हुने कामलाई लक्षित गरेर यो प्रविधि तयार गरिएको कम्पनीको भनाइ छ ।

गाया आर्क टेकमा पानीबाट सुरक्षित राख्ने विशेष सिलिङ सिस्टम, इन्टेलिजेन्ट नेभिगेसन स्टेबिलिटी सिस्टम र ८०० भोल्टको विशेष वाटर-फोर्डिङ सिस्टम समावेश छन् । यससँगै सीईएम-ओ एम्फिबियस रेन्ज एक्स्टेन्डर सिस्टम पनि एकीकृत गरिएको छ ।
गाडीलाई नेभिगेसन मोडमा राखेपछि यसको पावरट्रेनले ऊर्जा विशेष वाटर-फोर्डिङ प्रणालीतर्फ पठाउँछ । यसले गाडीलाई पानीमा अगाडि बढ्न र निश्चित दिशामा नियन्त्रण कायम राख्न सहयोग गर्छ ।
सामान्य वाटर-फोर्डिङभन्दा फरक
अहिलेसम्म बजारमा उपलब्ध अधिकांश अफरोड एसयूभीमा वाटर-फोर्डिङ क्षमतालाई खोलानाला वा बढी पानी जमेको सडक पार गर्न सक्ने क्षमताका रूपमा बुझिन्छ । तर, जी-७०० आर्क एडिसनको प्रविधिले पानीमा नै गाडीलाई अघि बढाउन र दिशा नियन्त्रण गर्न सक्ने क्षमता प्रदर्शन गरेको छ ।
यसले विशेषगरी बाढी, डुबान तथा उद्धार कार्यजस्ता परिस्थितिमा सम्भावित उपयोगको नयाँ क्षेत्र खोल्न सक्छ ।

यद्यपि, कम्पनीले सार्वजनिक गरेको विवरणमा पानीमा चलाउँदा हासिल हुने गति, अधिकतम संचालन अवधि, पानीको अधिकतम गहिराइ तथा ब्याट्री वा इन्धन खपतजस्ता विस्तृत प्राविधिक तथ्यांक खुलाएको छैन ।
विश्वका १०० भन्दा बढी देशमा जेटोर
सन् २०१८ मा स्थापना भएको जेटोरले ‘ट्राभल प्लस’ रणनीति अन्तर्गत अन्तर्राष्ट्रिय बजार विस्तार गरिरहेको छ । कम्पनीका अनुसार अहिले यसको उपस्थिति विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रमा पुगेको छ । विश्वभर कम्पनीका २ हजारभन्दा बढी बिक्री तथा बिक्रीपछिको सेवा केन्द्र संचालनमा छन् ।
नेपालमा पनि लक्ष्मी मोटरहबले जेटोर ब्राण्ड लन्च गरिसकेको छ । कम्पनीसँग हल्का अफरोड सेग्मेन्ट लक्षित टी सिरिज र प्रिमियम लक्जरी अफरोड बजार लक्षित जी सिरिजमा विभिन्न मोडल तयार छन् । नेपालमा टी सिरिजका एसयूभी उपलब्ध गराइएको छ ।

