चीनमा कार बिक्री घटे पनि उत्पादनमा आक्रमक, डिलरमा थुप्रियो स्टक

काठमाडौं । चीनमा समग्र कार बिक्री ओरालो लागेपनि कम्पनीहरू कार उत्पादनलाई आक्रमक रूपमा अगाडि बढाएका छन् । चीनमा खुद्रा बिक्री घटे पनि उत्पादक कम्पनीबाट डिलर नेटवर्कमा पठाइने होलसेल बिक्री भने बढेको हो ।

नोभेम्बर १ देखि १५ तारिखसम्मको बिक्री तथ्यांक अनुसार ५ लाख ९२ हजार युनिट न्यू इनर्जी भेहिकल होलसेल बिक्री हुँदा रिटेल बिक्री भने १५ दिनमा चीनमा ४ लाख ४७ हजार युनिट मात्रै भएको कार उत्पादकहरूले जनाएका छन् ।

सन् २०२६ लागेसँगै न्यू इनर्जी भेहिकलको बजार हिस्सा क्रमिक रूपमा बढ्दै नोभेम्बरको १५ दिनमा आइपुग्दा ७३ प्रतिशतसम्म पुगेको छ । जनवरीदेखि नोभेम्बर १५ सम्म चीनमा कुल १ करोड ३८ लाख २० हजार युनिट न्यू इनर्जी भेहिकल होलसेल बिक्री भएका छन् । यो गत वर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

नोभेम्बरमा पनि कार बिक्री निरन्तर ओरालो नै लागेको चिनियाँ बजारमा सन् २०२६ को नोभेम्बर १५ सम्ममा न्यू इनर्जी भेहिकलको रिटेल बिक्री ९३ लाख २० हजार युनिट पुगेको छ । यसको मतलव करिब ४५ लाख युनिट न्यू इनर्जी भेहिकल डिलरहरूसँग स्टकमा रहेको देखिन्छ ।

रिटेलभन्दा होलसेलमा जोड दिँदा डिलर दबाबमा

सीपीसीएका अनुसार चीनको अटो बजारमा अहिले उपभोक्ताको कमजोर क्रयशक्ति, आम्दानीप्रतिको अनिश्चितता र नयाँ गाडी खरिद गर्ने विषयमा पर्ख र हेरको प्रवृत्तिका कारण ठूलो परिमाणमा कार स्टकमा देखिएको छ ।

नोभेम्बरमा आयोजित ‘डबल ११’ सपिङ फेस्टिभललाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरूले विभिन्न छुट तथा प्रवद्र्धनात्मक योजना ल्याए पनि त्यसले खुद्रा बिक्रीमा अपेक्षित सुधार ल्याउन सकेन ।

सीपीसीएका अनुसार वर्षको अन्त्यसम्म बिक्री लक्ष्य पूरा गर्ने दबाबमा रहेका अटोमोबाइल उत्पादकहरूले नयाँ मोडल सार्वजनिक गर्ने र डिलरहरूलाई धेरै गाडी पठाउने क्रम तीव्र बनाएका छन् । तर, उत्पादकबाट डिलरमा पठाइएको गाडी र उपभोक्ताले वास्तविक रूपमा खरिद गरेको गाडीबीच ठूलो अन्तर देखिएको छ ।

वर्षको अन्त्यमा बिक्री बढ्ने अपेक्षा

सीपीसीएका अनुसार आगामी दिनमा चीनको अटो बजारको प्रदर्शन ग्वाङ्झाउ अटो शोमा सार्वजनिक हुने नयाँ मोडल र वर्षको अन्त्यमा हुने सवारीसाधन प्रतिस्थापन मागमा निर्भर रहनेछ ।

विशेषगरी पुराना गाडीको सट्टा नयाँ गाडी खरिद गर्दा उपलब्ध गराइने ट्रेड-इन अनुदान वर्षको अन्त्यमा समाप्त हुने भएकाले त्यसअघि उपभोक्ताले नयाँ गाडी खरिद गर्ने सम्भावना छ ।


Back_to_top