काठमाडौं । दक्षिण कोरिया र एसियाली बजारमा लोकप्रिय कमर्सियल पिकअप हुन्डाई पोर्टर नयाँ जेनेरेसन मोडल आउने भएको छ । सन् १९७७ देखि बजारमा रहँदै आएको पोर्टर पिकअपको पाँचौँ जेनेरेसन मोडल बजारमा आउन लागेको हो ।
नयाँ पोर्टर पिकअपको डिजाइनदेखि सुरक्षा फिचर र पावरट्रेनसम्म महत्वपूर्ण परिवर्तन हुन लागेको छ । नयाँ जेनेरेसन पोर्टरका विषयमा धेरै कुरा बाहिर नआएपनि परीक्षणको क्रममा देखिएको गाडीको स्पाई तस्बिर अनुसार ठूलो परिवर्तन हुने अनुमान लगाउन सकिन्छ ।
नयाँ पोर्टरमा सबैभन्दा ठूलो परिवर्तन यसको फ्रन्ट डिजाइनमा हुनेछ । अहिले बिक्री भइरहेको फार्थ जेनेरेसन मोडलमा क्याबओभर डिजाइन अर्थात् चालक बस्ने क्याबिन अगाडिको पाङ्ग्रामाथि रहने व्यवस्था छ । तर, पाँचौँ जेनेरेसन मोडलमा सानो बोनेट दिइएको छ । क्याबिनलाई अगाडिको एक्सलभन्दा पछाडि सारिएको छ । यसले चालक र यात्रु सुरक्षामा अब्बल हुनेछ ।
नयाँ पोर्टरमा विद्युतीय पावरट्रेनलाई निरन्तरता दिइनेछ । सन् २०१९ मा आएको पोर्टर टु इलेक्ट्रीकपछि कम्पनीले विद्युतीय संस्करणलाई नै अघि बढाउन लागेको हो । स्पाइ तस्बिरमा पनि एक्जस्ट पाइप देखिएको छैन ।
नयाँ पोर्टरमा किया पीभी५को कमर्सियल ईभी प्लेटफर्मका केही प्रविधि प्रयोग हुन सक्ने अनुमान गरिएको छ । कम्पनीले अहिलेसम्म नयाँ पोर्टरमा प्रयोग हुने ब्याट्री साइज र मोटर पावरका बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

