स्टेयरिङ र पेडल बिनाको ‘मोडल वाई’ बनाउँदै टेस्ला

काठमाडौं । टेस्लाले स्टेयरिङ ह्वील र पेडल बिना कार ल्याउने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल कार ‘मोडल वाई’लाई पूर्ण स्वचालित बनाएर ल्याउन लागेको हो ।

कम्पनीका सीईओ एलन मस्कले गत बुधबार न्युयोर्क टाइम्स डिलबुक समिटमा नयाँ मोडल वाईका बारेमा जानकारी दिएका हुन् ।

सीईओ मस्कका अनुसार नयाँ मोडल वाई पूर्ण रूपमा स्वचालित हुनेछ । यसमा चालकले गाडी नियन्त्रण गर्न प्रयोग गर्ने स्टेयरिङ ह्वील र एक्सिलेटर तथा ब्रेक पेडल प्रयोग हुनेछैन ।

उनका अनुसार टेस्लाले यसअघि सार्वजनिक गरेको साइबरक्याब दुई सिट क्षमताको छ । तर, परिवार तथा ठूलो समूहका यात्रुलाई लक्षित गर्दै ४, ६ वा ७ जनासम्म अट्ने स्वचालित सवारी आवश्यक पर्ने भएकाले मोडल वाईलाई पनि यस्तो प्रविधिमा विकास गर्न लागिएको हो ।

मस्कले नयाँ स्वचालित मोडल वाईमा ६ देखि ७ जनासम्म यात्रु बोक्न सकिने बताए । यद्यपि, यसको उत्पादन सुरु हुने मिति र सर्वसाधारणले खरिद गर्न पाउने समयबारे कुनै जानकारी दिएका छैनन् ।

टेस्लाले अहिले आफ्नो स्वचालित सवारी फ्लीटमा मोडल वाई नै प्रयोग गरिरहेको छ । तर, ती गाडीमा स्टेयरिङ र पेडलको प्रयोग भएको छ । प्रस्तावित नयाँ संस्करणमा भने यी सबै उपकरण हटाइनेछ ।

नयाँ मोडल वाई निजी ग्राहकलाई बिक्री गर्ने वा नगर्ने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top