बीवाइडीको नयाँ चमत्कार : १० सेकेण्डमै लुकाउ मिल्ने स्टेयरिङ

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता बीवाइडीले १० सेकेण्डमै ड्याबोर्डमा लुकाउन मिल्ने स्टेयरिङमा नयाँ एसयूभी लन्च गरेको छ ।

विद्युतीय सवारीसाधनमा बीवाइडीले नयाँ-नयाँ प्रविधिको विकास गर्दै आएको छ । अल्ट्रा फास्ट चार्जिङदेखि विश्वकै तीव्र गतिमा दौडिने उत्पादन कार निर्माण गरेर चर्चा कमाएको बीवाइडीले अब गाडीको क्याबिनमा नयाँ प्रयोग गरेको हो ।

कम्पनीको प्रिमियम एसयूभी ब्राण्ड फाङ चेङ बाओको नयाँ फ्ल्यागसिप प्लगइन हाइब्रिड एसयूभी ‘टीआई ९’ मा ड्यासबोर्डभित्रै फोल्ड भएर लुक्ने स्टेयरिङ ह्वील दिइएको छ । उक्त स्टेयरिङ ह्वील करिब १० सेकेण्डमै १८० डिग्री घुमेर ड्यासबोर्डभित्र राख्न सकिन्छ ।

यसअघि बीवाइडीको याङवाङ यू ९ एक्स्ट्रिमले ५०३.१७ किलोमिटर प्रतिघण्टाको गति हासिल गर्दै उत्पादन कार तथा विद्युतीय उत्पादन कारको एकतर्फी दौडको विश्व कीर्तिमान कायम गरेको थियो ।

कम्पनीको नयाँ फ्ल्यास चार्जिङ प्रविधिले ५ मिनेटमा १० देखि ७० प्रतिशत र ९ मिनेटमा १० देखि ९७ प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्ने चार्जर निर्माण गरेको छ ।


अब भने कम्पनीले गाडीको भित्री बनावट र यात्रुको आरामलाई प्राथमिकता दिँदै फोल्ड हुने स्टेयरिङ ह्वील प्रविधि सार्वजनिक गरेको हो ।

याङवाङको टीआई ९ को सबैभन्दा आकर्षक विशेषता नै फोल्डेबल स्टेयरिङ ह्वील हो । सामान्य अवस्थामा यो फ्ल्याट बटम डिजाइन र विभिन्न कन्ट्रोल बटनसहितको परम्परागत स्टेयरिङ जस्तै देखिन्छ । तर, गाडी पार्किङमा राखेपछि सक्रिय गर्दा स्टेयरिङ ह्वील १८० डिग्री घुमेर ड्यासबोर्ड भित्र रहेको विशेष भागमा गएर बस्छ ।

यसरी स्टेयरिङ ह्वील फोल्ड हुँदा चालकको अगाडिको भागमा करिब २५० एमएम थप खाली ठाउँ उपलब्ध हुने कम्पनीको दाबी छ । रोबोटिक्स प्रविधिबाट प्रेरित विशेष हिन्ज र इलेक्ट्रीक मोटर प्रयोग गरेर यो प्रणाली तयार गरिएको हो । कम्पनीले यसलाई करिब ८० हजार पटक संचालन गर्न सकिने गरी इन्जिनियरिङ गरेको जनाएको छ ।

यसमा स्टेयर बाइ वायर प्रविधि प्रयोग गरिएको छ । यो प्रविधिमा स्टेयरिङ ह्वील र पाँग्रा बीच परम्परागत मेकानिकल कनेक्सन हुँदैन । चालकले दिएको स्टेयरिङ इनपुट इलेक्ट्रोनिक प्रणालीमार्फत पाङ्ग्रासम्म पुग्छ । यही प्रविधिका कारण स्टेयरिङलाई ड्यासबोर्डभित्र फोल्ड हुने गरी डिजाइन गर्न सम्भव भएको हो ।


यो सुविधा गाडी पार्किङमा राखिएको अवस्थामा मात्र प्रयोग गर्न सकिन्छ । सामान्य ड्राइभिङका क्रममा स्टेयरिङ ह्वील फोल्ड गर्न मिल्दैन । लामो यात्रा वा चार्जिङका क्रममा चालकलाई आराम गर्न सहज बनाउनु यसको मुख्य उद्देश्य हो ।

बीवाइडी टीआई ९ मा कम्पनीको डीएमएस सुपर हाइब्रिड अलराउण्ड प्लेटफर्म प्रयोग गरिएको छ । यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुईवटा इलेक्ट्रीक मोटर जडान गरिएको छ ।

यी सबैको संयुक्त पावर ४०० किलोवाट अर्थात् करिब ५३६ हर्सपावर छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.८ सेकेण्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ ।

यसमा ६६.४८ किलोवाट आवर क्षमताको एलएफपी ब्लेड २.० ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सीएलटीसी परीक्षण चक्रअनुसार एकपटकको फुल चार्जमा ४०० किलोमिटरसम्म इलेक्ट्रीक रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

पेट्रोल र इलेक्ट्रीक दुवै प्रणाली प्रयोग गर्दा यसको कुल रेन्ज १ हजार ६३० किलोमिटर पुग्ने कम्पनीको दाबी छ ।

टीआई ९ मा आधुनिक च्यासिस प्रविधिसमेत प्रयोग गरिएको छ । यसमा रियर ह्वील स्टेयरिङ, रियर ह्वील भेक्टर कन्ट्रोल र ‘लेपर्ड टर्न’ फङ्सन उपलब्ध छ ।

लेपर्ड टर्न फङ्सनका कारण यसको न्यूनतम टर्निङ रेडियस ३.५ मिटर मात्र हुने कम्पनीको दाबी छ । ठूलो आकारको एसयूभी भए पनि साँघुरो सडकमा मोड्न यसले सहज बनाउने अपेक्षा गरिएको छ ।

सुरक्षाका लागि यसमा लिडारमा आधारित गड्स आई बी ड्राइभर असिस्टेन्स सिस्टम दिइएको छ । त्यस्तै, टायर पङ्चर भएर हावा निस्किएको अवस्थामा पनि गाडीलाई स्थिर राख्न सहयोग गर्ने प्रविधि र अगाडि ६ पिस्टनयुक्त ब्रेक क्यालिपर प्रयोग गरिएको छ ।


Back_to_top