बिजुली बजारको आर्क ब्रिजमा आकर्षक बत्ती जडान गरिने

काठमाडौं । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क ब्रिज) सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ ।

यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरै वटा सुन्दर बत्ती जडान हुने इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए। ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिने उनले बताए।

पुल निर्माणका लागि ठेक्का सम्झौता हुँदा डिजाइनमा सामान्य बत्ती उल्लेख भए पनि अहिले त्यसका सट्टा आकर्षक बत्ती जडान गर्न लागिएको हो । उनले भने, “बत्ती जडानकै लागि निर्माण कम्पनीसँग छलफल भइरहेको छ ।”

निर्माण व्यवसायी आफैँले डिजाइन गरेकोमध्ये एउटा पुल गत वर्ष नै सम्पन्न भइसकेको थियो भने अर्को पुल अघिल्लो महिना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । निर्माण व्यवसायीसँग भएको सम्झौतानुसार बत्ती जडानसँगै पुलमा रंगरोगनको काम बाँकी रहेको इञ्जिनीयर देवकोटाले बताए ।

यो पुल निर्माणका लागि वि.सं. २०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेइ कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल तीन वर्षमा सक्नेगरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो ।

डिजाइनमा लामो समय लागेको र समयमा निर्माणस्थलमा रहेका संरचना हटाउन नसकिएकाले पुल सम्झौता अवधिमा सम्पन्न हुन सकेको थिएन ।

एक वर्ष थप्दा काम सम्पन्न हुने भन्दै आयोजनाले गरेको सिफारिसमा सरकारले अवधि थपेको थियो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।रासस


Back_to_top