भदौमा कोरलाबाट भित्रिए १२५३ विद्युतीय कार

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा मुस्ताङस्थित कोराला नाका हुँदै १ हजार २०० युनिट बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ महिनामा मात्रै कोरला हुँदै १ हजार २५३ युनिट ईभी नेपाल आएका हुन् । यी बाहेक सयौं संख्यामा ईभी भन्सार यार्ड र बाटोमा आउँदै गरेको बताइएको छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले भदौमा १२५३ युनिट विद्युतीय सवारीको जाँचपास गराएको जानकारी दिए । त्यस्तै, भन्सार यार्डमा जाँचपासका लागि धेरै गाडी रहे पनि संख्या भने एकिन नभएको उनले बताए । व्यवसायीले जाँचपास प्रक्रिया अघि नबढाएसम्म यार्डमा रहेका गाडीको संख्या आफूहरूलाई थाहा नहुने उनले बताए ।

अहिले पनि दैनिक रूपमा ठूलो संख्यामा कन्टेनर र ईभी आइरहेको उनले बताए । उनका अनुसार भदौमा मात्रै ६९७ कन्टेनर मालसामान जाँचपास गरिएको उनले बताए ।

‘रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो क्रममा छ,’ उनले मेरोअटोसँग भने, ‘भदौ महिनामा मात्रै १२५३ युनिट विद्युतीय सवारी र ६९७ कन्टेनर मालसामान जाँचपास गरियो । आउने क्रम जारी छ ।’

चालु आवको दुई महिनाबाट १३५३ ईभी भित्रिएको उनको भनाइ छ । चीनसँग व्यापार गर्ने दुई प्रमुख रसुवागढी र तातोपानी नाका बन्द भएसँगै व्यवसायीहरूले विकल्पमा धमाधम कोरलाबाट विद्युतीय सवारी आयात गर्न थालेका हुन् ।

गत नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ लिएका ग्राहकलाई समयमै गाडी डेलिभरी दिन कोरला हुँदै गाडी आयात गरेका हुन् । उनीहरूले बुकिङ गरेका ग्राहकलाई आफ्नो गाडी आइरहेको र चाँडै डेलिभरी दिने जानकारी समेत गराइरहेका छन् ।

कोरला नाका हुँदै बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल, स्काइवेल लगायत ब्राण्डका ईभी आयात भइरहेको हो ।

कार्यालय प्रमुख चुडालले भदौमा मात्रै २ अर्ब ८१ करोड राजस्व राजस्व संकलन भएको जानकारी दिए । चालु आवको दुई महिनामा विद्युतीय सवारी र कन्टेनरमा ल्याएको सामान जाँचपासबाट ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

गत वर्ष बाढीपहिरोले तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले २०८२ भदौ ३१ देखि मुस्ताङ भन्सार नियमित रूपमा संचालनमा ल्याएको थियो । गत वर्ष कोरला हुँदै करिब ३ हजार विद्युतीय सवारी आयात भएको थियो भने कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।


Back_to_top