काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा साढे १२ हजार बढी सवारी साधन क्षति पुगेको छ ।
जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठित समितिले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन अनुसार १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त भएका हुन् ।
उक्त संख्यामा सवारी साधनमा क्षति पुग्दा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबर नोक्सान हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । समितिले प्रतिवेदन बुझाए पनि सार्वजनिक नभएकाले क्षति पुगेका दुईपाँग्रे/चारपाँग्रे सवारीको छुट्टाछुट्टै संख्या भने खुलेको छैन ।
आन्दोलनका क्रममा विभिन्न निकाय/कार्यालयहरूका रहेका सरकारी र निजी सवारी साधनमा आगजनी तथा तोडफोड गरिएको थियो । आन्दोलनमा साढे १२ हजार बढी सवारीमा क्षति पुगे पनि अधिकांशको बीमा नहुँदा क्षतिपूर्ति समेत पाउन सकेनन् । करिब २ हजार ३०० सवारीको मात्र बीमा दाबी परेको छ ।
क्षति पुगेका सवारीको मर्मत तथा नयाँ खरिदका लागि करिब ६ अर्ब १६ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

आन्दोलनबाट समग्रमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौति क्षति पुगेको समितिको मूल्यांकन छ । जसमा
सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र निजी क्षेत्रको ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ क्षति पुगेको छ । सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
क्षति पुगेका संरचना पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

