काठमाडौं । चीनमा १२९ ब्राण्डमा विद्युतीय कारहरू उत्पादन हुँदै आएका छन् । अधिकांश ठूला ब्राण्डले ३ देखि ५ वटासम्म सहायक ब्राण्ड स्थापना गरेर न्यू इनर्जी भेहिकल उत्पादनमा काम गर्दै आएका छन् ।
विशेषगरी ब्याट्री इलेक्ट्रीक भेहिकल, प्लग इन हाइब्रिड र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल अहिले चीनमा उत्पादन र बिक्री हुँदै आएका छन् । चीनमा रहेका अधिकांश ब्राण्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो व्यवसाय विस्तार गर्न चाहेका छन् । त्यसैले नेपाली बजारमा यी उत्पादन एकपछि अर्को गर्दै आएका छन् ।
चीनमा अहिले लग्जरी, हाइटेक, प्रिमियम, सेमी-प्रिमियम, सुपर मेनस्ट्रीम, मेनस्ट्रीम, इन्ट्री लेभल मेन स्ट्रीम र पुरानो टेक्नोलोजी अंगाल्ने कम्पनीको रूपमा चलिरहेका छन् ।
यसरी वर्गीकरण भएका ब्राण्ड मध्ये अहिलेसम्म हाइटेक र सेमी प्रिमियम ब्राण्डसम्मका गाडी नेपाली बजारमा उपलब्ध भएका छन् । चिनियाँ हाइटेक ब्राण्डमा अभतार तथा सेमी प्रिमियम ब्राण्डमा आइएम र जिकरका उत्पादन नेपाली बजारमा छन् ।
कति ब्राण्ड आए नेपाल ?
चिनियाँ ईभीको नयाँ ठेगाना बनिरहेको नेपालमा कति ब्राण्ड आएका छन् । त्यसको हिसाब किताब ठ्याक्कै त छैन । तर, तीन दर्जन ब्राण्डका कार नेपालमा अहिले बिक्रीको लागि उपलब्ध छन् ।
अहिले बजारमा प्रभाव पार्ने बिक्री गर्दै आएको बीवाइडी, एमजी, ओमोडा/जेको, दीपल, डोङफेङ नामी, लीप मोटर जस्ता छन् । यसका अलवा जीएसी आयोन, केई, एक्सपेङ, जिकर, एक्सपेङ जस्ता ब्राण्ड पनि धेरैले चर्चा गर्नेमा पर्छन् ।

स्मार्ट, स्काइवेल, डोङफेङ फ्राइडे, ग्रेटवाल, जिली, विलिङ, बीएडब्लू, सेरेस, जेवाई एयर, नेटा जस्ता ब्राण्ड बजारमा बिक्री हुँदै आएका छन् । केही नयाँ ब्राण्ड आउने क्रममा छन् भने केही ब्राण्ड नेपाल अब कहिल्यै नआउने गरी बन्द भइसकेका छन् । पछिल्लो समय नेपाल आएको आइएम ब्राण्ड सबैभन्दा नयाँ हो ।
‘अहिलेसम्म तीन दर्जन हाराहारी ब्राण्डका विभिन्न कार नेपाल आएका छन् । त्यस मध्ये एक दर्जन ब्राण्ड त बन्द नै भए होला । अब आउने ब्राण्डहरू पहिलाको जस्तो खराब हुने छैनन् । अझ चीनले निर्यात कडाई गर्न लागेको कारण खराब ब्राण्ड आउने छैन’, चीनबाट विद्युतीय कार आयातमा संग्लगन एक व्यवसायीले मेरोअटोसँग भने ।
छाँटिदै ब्राण्डहरू
नेपालमा ईभी बिक्रेता बन्द हुनु र नहुनु ठूलो कुरा होइन चीनमै कार निर्माताहरू मर्जरमा जाने तयारीमा छन् । सरकारले पनि अनिर्वाय मर्जरको नीति बनाउन सक्ने समाचारहरू आइरहेका छन् । सरकारी स्वामित्वमा रहेका केही ब्राण्ड बीचको मर्जरको कुरा अहिले खुबै चलिरहको छ ।
अहिले चीनमा ईभीको मूल्य कटौतीमा चर्को प्रतिस्पर्धा चलिरहेको छ । यसको मतलब कम्पनीहरू हरेक कार बिक्रीमा ‘क्यास वर्न’ गरिरहेका छन् । यसले कति दिन थेग्छ भन्ने एकिन सरकारले पनि गर्न सकेको छैन । त्यसैले सरकारनै ईभी उत्पादक बीच मर्जर गर्नुपर्ने बताउँदै आएको छ ।
अहिले चीनमा रहेका ईभी बिक्री गर्ने केबल ३० प्रतिशत डिलरहरू मात्रै नाफामा छन् । ईभीको लागत अहिले पनि धेरै, ब्याट्रीको विकासमा भइरहेको ठूलो लगानी, सुरक्षा फिचर र चार्जिङ पूर्वाधार निर्माणमा अर्बौ डलर खर्च गरिरहनु परेकाले कम्पनीहरू वासलात बलियो बन्न सक्ने अवस्था छैन ।

