काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले स्वरूप बदलेर चर्को आवाज निकाल्ने मोटरसाइकल विरुद्ध ‘अपरेसन ३६५’ अभियान सुरू गरेको छ ।
विशेष गरी रातको समयमा ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधि बढिरहेको भन्ने व्यापक जनगुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ‘अपरेसन ३६५’ अभियान चलाएकोे हो ।
प्रहरीले असोज २७ गतेदेखि सुरु गरेको यो अभियान अन्तर्गत बुधबारसम्म स्वरूप बदलिएका ८७ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीका अनुसार स्वरूप बदलिएका मोटरसाइकललाई पुरानै स्वरूपमा ल्याएर चालकलाई जरिवाना गरिएको छ । त्यस्तै, मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग वादविवाद, झैझगडा गर्ने २२ जना मोटरसाइकल चालकलाई अभद्र व्यवहारको मुद्दामा हिरासतमा राखिएको छ भने १६ जना चालकलाई सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ ।
‘जेन–जी’ आन्दोलनपछि मोटरसाइकलको साइलेन्सर पड्काएर ध्वनि प्रदूषण गर्नेहरु बढेको प्रहरीको भनाइ छ । आगामी दिनमा पनि ‘अपरेसन ३६५’ निरन्तर रूपमा संचालन हुने प्रहरीले जनाएको छ ।
प्रहरीले विज्ञप्ति जारी गर्दै सवारी साधनधनीले आफ्नो सवारीसाधन मोडिफाइ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र ‘मोडिफाइ’ गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस सञ्चालकलाई समेत उक्त कार्य नगर्न नगराउन अनुरोध समेत गरेको छ ।
‘सवारी साधनको मोडिफाइ गरी चलाएको पाइएमा सवारीसाधनधनी र ऊक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ, विज्ञप्तिमा भनिएको छ ।


