काठमाडौं । राष्ट्रिय गौरवको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग दोस्रो पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुने भएको छ ।
आयोजनाको पछिल्लोपटक थपिएको म्याद आगामी कात्तिक ८ गते सकिँदै छ । तर, अझै ४ प्रतिशत काम बाँकी रहेकाले तोकिएकै समयमा नसकिने देखिएको हो ।
आयोजना अन्तर्गतका अधिकांश भौतिक संरचना निर्माण सम्पन्न भए पनि पहिरो नियन्त्रण, टोल बुथ निर्माण लगायत काम बाँकी रहेको परियोजनाका निर्देशक सौजन्य नेपालले बताए । उनका अनुसार समग्रमा सुरुङमार्गको भौतिक प्रगति ९६ प्रतिशत पुगेको जानकारी दिए ।
‘आयोजना अन्तर्गत सुरुङमार्ग, फ्लाइ ओभर, भवन निर्माण लगायत भौतिक संरचना निर्माण सकिएको छ,’ उनले मेरोअटोसँग भने, ‘अब मुख्य रुपमा सुरुङको पश्चिम पोर्टलतर्फ पहिरो नियन्त्रण, टोल बुथ निर्माण, सुरुङको परीक्षण लगायत काम बाँकी छ ।’
अब दुई साता (कात्तिक ८ सम्म) मा बाँकी काम नसकिने हुँदा फेरि म्याद थप्नुपर्ने अवस्था आएको उनले बताए । पहिरो नियन्त्रणका लागि अहिले परामर्शदाता कम्पनीले डिजाइनको काम गरिरहेको उनले बताए । त्यसपछि छलफल गरी कति समय म्याद थप्ने भन्ने टुंगो लगाइने उनले बताए ।
ठेक्का सम्झौता अनुसार यो सुरुङमार्ग २०८० वैशाख १३ गतेसम्म सम्पन्न हुनुपर्थ्यो । तर सो अवधिमा काम नसकिएपछि पहिलोपटक १ वर्ष (२०८१ वैशाख १३ गतेसम्म) म्याद थपिएको थियो । थपिएको अवधिमा पनि काम नसकिएपछि पुनः दोस्रो पटक २०८२ कात्तिक ८ गतेसम्मका लागि म्याद थप गरिएको थियो । थपिएको म्याद सकिन १० दिन मात्र रहँदा ४ प्रतिशत काम बाँकी रहेकाले पुनः तेस्रो पटक म्याद थप्नुपर्ने भएको हो ।
‘अरू काम सकिए पनि पहिरो नियन्त्रणको काम बाँकी छ । कात्तिक ८ सम्म सकिँदैन । अहिले परामर्शदाता कम्पनीले डिजाइनको काम गरिरहेको छ । डिजाइन तयार भएपछि उक्त काम गर्न कति समय लाग्छ । सोही अनुसार म्याद थपिन्छ,’ उनले भने ।

आयोजनामा मुख्य र आपतकालीन गरी दुई वटा सुरुङ रहेका छन् । आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २ हजार ५५७ मिटर लामो अपतकाली सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । मुख्य सुरुङमार्ग भित्र भेन्टिलेसन, फायर फाइटिङ, टेलिफोन, सेफ्टी, सीसीटीभ, बिजुली बत्ती लगायत उपकरण जडान भइसकेको छ ।
त्यस्तै, आयोजना अन्तर्गत ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभर पास, ३ वटा पुल निर्माण र बलम्बुमा एउटा फ्लाइओभर ओभर निर्माण गरिएको छ ।
करिब २२ अर्ब रहेको लागत रहेको सुरुङमार्ग जापानी कम्पनी हाज्मा’आन्दो जेभीले निर्माण गरिरहेको हो ।
टेन्डर खुलाउने तयारी
यो सुरुङमार्ग आगामी पुस भित्र संचालनमा ल्याउने सरकारको योजना छ । निर्माण अन्तिम चरणमा पुगेसँगै आयोजनाले सुरुङमार्ग संचालनका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी छ ।
नेपालसँग सुरुङमार्ग संचालनको अनुभव नभएकाले अन्तर्राष्ट्रियस्तरको सर्भिस प्रोभाइडर कम्पनी ल्याइने छ । यसका लागि खरिद निर्देशिका सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्वीकृति भइसकेको छ ।
साथै, बिड डकुमेन्ट पनि स्वीकृतिका लागि कार्यालयमा पेस भइसकेको छ । त्यो स्वीकृति भएपछि सर्भिस प्रोभाइडर छनोटका लागि अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गर्ने तयारी छ ।
शुल्क निर्धारण
सरकारले सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनले तिर्नुपर्ने शुल्क समेत निर्धारण गरिसकेको छ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले शुल्क तोकको हो ।

नागढुंगा सुरुङमार्ग हुँदै काठमाडौं आउने कार, भ्यान, जीपहरूले ६५ रुपैयाँ तिर्नुपर्ने छ भने बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।
त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।
निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/रस्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रोलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।
सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।
माथि उल्लेखित बाहेक अरू सबैखाले कार, जीप, भ्यान, माइक्रोबस, बस, ट्रक, टिपर, लरी लगायत सवारी साधन सुरुङमार्गमा चलाउन पाइन्छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।


