धुलिखेल-खावा सडकमा १५ दिन टिपर चलाउन रोक

फाइल तस्बिर

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा १५ दिन टिपर संचालनमा रोक लगाइने भएको छ ।

सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन असार १४ गतेदेखि २८ गतेसम्म टिपर प्रवेशमा पूर्णरुपमा रोक लगाइने भएको हो ।

सोमबार बसेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, टिपर बाहेकका अन्य मालवाहक र यात्रुबाहक सवारीलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म प्रवेशमा रोक लगाइने भएको छ । एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारी भने पूर्ववत् रुपमा चल्न सक्नेछन् ।

४.५ किमी लामो यो सडक मध्ये गत चैतमा २.५ किमीमा कालोपत्र गरिएको थियो । बाँकी सडकमा अब कालोपत्र गर्न सवारी बन्द गरेर कामलाई गति दिन लागिएको हो ।

यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रामा निस्कनु अघि आवश्यक जानकारी लिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।


Back_to_top