काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ)मा समग्रमा पेट्रोलियम पद्धार्थको खपत घटेको छ । पेट्रोल र हवाई इन्धनको खपत समान्य रूपमा बढे पनि डिजेल, खाना पकाउने एलपी ग्यास र मट्टीतेलको खपत घटेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवमा डिजेल खपत ३.६६ प्रतिशतले घटेको छ । गत आवको ११ महिनामा कुल ६ लाख १० हजार ९४३ किलोलिटर डिजेल आयात भएकोमा चालु आवको सोही अवधिमा डिजेल खपत ४८ हजार २७ किलोलिटरले घटेको हो ।
चालु आवको ११ महिनामा १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात भएको छ जबकि, गत आवको सोही अवधिमा १३ लाख १२ हजार ९०५ किलोलिटर डिजेल आयात भएको थियो । चालु आवको ११ महिनामा कुल १ खर्ब ११ अर्बको डिजेल आयात भएको छ । जसबाट सरकारले ५२ अर्ब ८१ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवका मुख्यगरी विकास निर्माण गतिविधि सुस्त हुँदा डिजेल खपतमा गिरावट आएको हो । बिटुमिन अभाव र डिजेलको मूल्य बढ्दा विगत ३ महिनादेखि ठूला आयोजनामा खासै काम हुन सकेको छैन ।
त्यसैगरी, समीक्षा अवधिमा खाना पकाउने एलपी ग्यासको खपत ६.०६ प्रतिशत अर्थात् ३ करोड ६ लाख ९८ हजार केजी घटेको छ । गत आवको जेठसम्म ५० करोड ६६ लाख केजी ग्यास आयात भएकोमा चालु आवको सोही अवधिमा ४७ करोड ५९ लाख केजीमा सीमित भएको छ । चालु आवमा ५२ अर्ब २१ करोडको ग्यास आयात भएको हो ।
चालु आवमा मट्टीतेलको खपत भने झण्डै आधाले घटेको छ । गत वर्ष ११ महिनामा १२ हजार ३० किलोलिटर मट्टीतेल आयात भएकोमा चालु आवमा ६ हजार ७९६ किलोलिटरमा सीमित भएको हो ।
चालु आवमा पेट्रोलको खपत भने सामान्य बढेको छ । गत आवको जेठसम्म ६ लाख ७८ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आवमा ६ लाख ८५ हजार १२७ किलोलिटर आयात भएको हो । समीक्षा अवधिमा पेट्रोल आयात ०.५३ प्रतिशत अर्थात् ३ हजार ६४३ किलोलिटर धेरै आयात भएको हो । चालु आवमा ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।
सरकारले इन्धन खपत घटाउन सातामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा दिएको छ । तर, दुई दिन बिदा भएपछि मानिसहरू घुमफिरमा निस्किँदा पेट्रोल खपत केही बढेको अनुमान छ ।
त्यस्तै, चालु आवमा हवाइ इन्धन आयात पनि १.४८ प्रतिशतले बढेको छ । गत आवको जेठसम्म १ लाख ९४ हजार ५०० किलोलिटर हवाई इन्धन आयात भएकोमा चालु आवमा १ लाख ९७ हजार ३८७ किलोलिटर आयात भएको हो । गत वर्षको तुलनामा २ हजार ८८७ किलोलिटर धेरै हवाई इन्धन खपत बढेको हो ।
चालु आवको ११ महिनामा कुल २ खर्ब ९८ अर्ब रुपैयाँको पेट्रोलियम पद्धार्थ आयात भएको छ । गत आवको सोही अवधिमा २ खर्ब ५० अर्बको इन्धन आयात भएको थियो । चालु आवमा अन्तर्राट्रिय बजारमा कच्चा तेलको भाउमा उच्च वृद्धि हुँदा नेपालबाट बाहिरिने रकम पनि बढेको हो । समीक्षा अवधिमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत १ अर्ब ४ अर्ब रुपैयाँ राजस्व पाएको छ ।


