काठमाडौं । बजाजले डोमिनार सिरिजमा रहेका २५० र ४०० दुई मोडल अपग्रेड गरेर भारतमा सार्वजनिक गरेको छ । कम्पनीले २०२५ मोडल भन्दै डोमिनार सिरिज अन्तर्गतका दुबै माडल अपग्रेड गरेको हो ।
बजाजले डोमिनार २५० र ४०० दुबै मोडललाई टूरिङ सेटअपमा ल्याएको छ । साथै, इलेक्ट्रीक अपडेट पनि गरिएको कम्पनीको भनाइ छ ।
अपग्रेड भएको २०२५ मोडल डोमिनार २५० को भारतमा मूल्य १ लाख ९२ हजार र डोमिनार ४०० को मूल्य २ लाख ३९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकिएको हो ।
कम्पनीले डोमिनार ४०० मा राइड वाइ वयार, नयाँ राइड मोड, र नयाँ एलसीडी क्लस्टर दिएको छ । डोमिनार २५० मा भने ४ एबीएस मोड दिएको छ ।
कम्पनीले दुबै मोडलमा कलर एलसीडीको प्रयोग गरेको छ । इन्स्ट्रुमेन्ट क्लस्टर अगाडि सानो भाइजर पनि दिएको छ । कम्पनीले पल्सर एनएस ४०० जेडमा भएको स्वीच गियर डोमिनारको दुबै भेरिइन्टमा प्रयोग गरेको छ ।
कम्पनीले दुबै मोडलको इन्जिनमा कुनैपनि परिर्वतन गरेको छैन । डोमिनार ४०० मा भएको ३७३ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिनलाई निरन्तरता दिइएको छ । उक्त इन्जिनले ३५ एनएम टर्क र ४० हर्ष पावर जेनेरेट गर्छ ।
डोमिनार २५० मा भएको २४८.८ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिनले २७ हर्ष पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै मोटरसाइकल ६ स्पीड गियरबक्सका साथ आउँछ ।
नेपाली बजारमा हंशराज हुलाश चन्द एण्ड कम्पनीले २०२४ मोडल डोमिनार उपलब्ध गराउँदै आएको छ । कम्पनीले डोमिनार ४०० को मूल्य ६ लाख २० हजार ९०० र डोमिनार २५० को मूल्य ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले यसको २०२५ मोडल निकट भविष्यमै नेपाल ल्याउने छ ।

