काठमाडौं । भारतीय बजारमा विद्युतीय कारको बिक्री बढ्दै गएको छ । पछिल्ला महिनाहरुको बिक्रीले भारतमा ईभीको माग बढ्दै गएको देखिएको हो ।
सन् २०२५ लागेसँगै बढ्दै गएको ईभीको बिक्री गत जुन महिनामा १३ हजार ३३ युनिट पुगेको हो । उक्त संख्या सन् २०२४ जुन महिनाको तुलनामा ७८ प्रतिशतले बढी देखिन्छ ।
गत जुन महिनामा एमजी र महिन्द्राले मिलाएर कुल बिक्रीको ५३ प्रतिशत बजार हिस्सा आफ्नो भागमा पार्न सफल भएका छन् । भारतमा सबैभन्दा धेरै ईभी बिक्री गर्ने टाटा मोटर्सको बजार हिस्सा भने घट्दै गएको छ । जुनमा कुल बिक्री भएको कारमा टाटाको ३५.८ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो बर्षको जुन महिनामा टाटाको बजार हिस्सा ६२.७ प्रतिशत थियो ।
टाटा मोटर्सले २०२५ जुनमा ४६६४ युनिट विद्युतीय कार बिक्री गरेको छ । जबकी एमजीले ३ हजार ९४५ युनिटसहित टाटालाई पच्छाई रहेको छ । एमजीले बिक्री गरेको उक्त संख्या अघिल्लो वर्ष जुनको बिक्री संख्या १ हजार ४७६ भन्दा १६७ प्रतिशतले बढी हो ।
भारतीय अर्को अटोमोबाइल ब्राण्ड महिन्द्राको बिक्री जुन महिनामा २ हजार ९७९ युनिट पुगेका छ । कम्पनीले अघिल्लो वर्षको जुनको तुलनामा ५१२ प्रतिशत ईभीको बिक्री बढाएको हो ।
हुन्डाईले पनि इलेक्ट्रीक क्रेटाको लन्च गरेयता राम्रै बिक्री बढाएको छ । कम्पनीले २०२४ जुनमा ६३ युनिट मात्रै ईभी बिक्री गरेको थियो । गत जुनमा भने त्यो बढेर ५०९ युनिट पुगेको छ ।
यी अलावा जुन महिनामा बीवाइडीले ४६१ युनिट, कियाले ४१ युनिट र सिट्रोनले ८० युनिट बिक्री गरेका छन् ।
त्यस्तै लग्जरी सेग्मेन्टतर्फ बीएमडब्लुले २१२ युनिट, मर्सिडिज बेन्जले ९१ युनिट, भल्भोले २२ युनिट, अउडीले २ युनिट र अन्य ब्राण्डले २७ युनिट ईभी जुन महिनामा बिक्री गरेका छन् ।

