मारुती सुजुकीले एस-प्रेसोमा थप्यो फिचर, फेरियो इन्जिन

काठमाडौं । मारुती सुजुकीले माइक्रो एसयूभीको नारा दिएर विक्री सुरु गरेको एस–प्रेसोमा फिचर थप गरेर सार्वजनिक गरेको छ । कम्पनीले फिचरसँगै यसको इन्जिन पनि परिवर्तन गरेको हो ।

नेपालमा पनि यो गाडी विक्री वितरण हुँदै आएको छ । कम्पनीले एस-प्रेसोमा नयाँ के सिरीजको १.० लिटर ड्यूलजेट भीभीटी पेट्रोल इन्जिन प्रयोग गरेको छ । सेलेरियोमा पनि यही इन्जिन दिइएको छ । उक्त इन्जिनले ६६ हर्सपावर र ८९ एनएमको पीक टर्क प्रदान गर्छ ।

कम्पनीको अनुसार आइडल स्टार्ट/स्टप टेक्नलोजीको साथमा आएको यो इन्जिनले प्रतिलिटर २५ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दावी छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो पेट्रोलियम पदार्थको मूल्यबाट केही भएपनि राहत चाहनेको लागि यो माइलेज निकै राम्रो मानिन्छ ।

नयाँ २०२२ मोडल एस-प्रेसोमा इलेक्ट्रोनीक स्टेबीलीटी प्रोग्रामका साथै हिल होल्ड असिस्ट पाउन सकिन्छ । इलेक्ट्रीक एड्जस्टेबल ओआरबीएम, स्टेरिङ माउण्टेड अडियो एण्ड भोइस कन्ट्रोलले चालकलाई निकै सहज बनाएको छ ।

मारुती सुजुकीले एस-प्रेसोमा सुरक्षाका लागि डिउल फ्रन्ट एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, प्रिटेन्सनर र फोर्स लिमिट फ्रन्ट सिटबेल्ट, सिटबेल्ट रिमाइण्डर, रिभर्स पार्किङ सेन्सर, हाइस्पीड वार्निङ सिस्टम दिएको छ ।

एस-प्रेसोको विक्रीमा व्यापक गिरावट आएसँगै कम्पनीले यसमा फिचर थप गरेर बजारमा ल्याएको हो ।


Back_to_top