नयाँ इन्जिनमा हुन्डाई क्रेटा, सुरक्षा फिचर थप

काठमाडौं । हुन्डाईको सर्वाधिक सफल एसयूभी क्रेटा नयाँ इन्जिनमा आएको छ । कम्पनीले बीएस ६ मापदण्डको सेकेन्ड फेज कार्यान्वयन गर्दै नयाँ इन्जिनमा क्रेटा ल्याएको हो ।

भारतमा हिजो (विहिबार) सार्वजनिक भएको क्रेटाको मूल्य पहिलेको तुलनामा २० देखि ५० हजार भारतीय रुपैयाँले बढेको छ । सन् २०२३ अप्रिलबाट भारतमा उत्पादन हुने कारहरुले बीएस ६ मापदण्डको सेकेन्ड फेज लागु गर्नु पर्ने नियम बनाएको कारण सबै कम्पनीले इन्जिन अपग्रेड गरिरहेका छन् ।

नयाँ क्रेटामा प्रयोग भएको इन्जिन प्रदुषणको हिसावले अपग्रेड भएको भएपनि पावर र टर्क भने समान छ । कम्पनीले क्रेटामा तीन इन्जिन अप्सन दिएको छ । पेट्रोल र डिजेल इन्जिन समान १.५ लिटर क्षमताको इन्जिन क्रेटामा पाउन सकिन्छ । क्रेटामा टर्बो इन्जिन भने १.४ लिटर क्षमताको पाउन सकिन्छ ।

पेट्रोल इन्जिनको अधिकतम पावर ११५ पीएस र १४४ एनएम टर्क जेनेरेट गर्छ । साथै, डिजेल इन्जिनले पनि अधिकतम ११५ पीएस पावर २५० एनएम टर्क प्रदान गर्छ । यसको टर्बो इन्जिनले भने १४० पीएस पावर र २४२ एनएम टर्क प्रदान गर्छ ।

सन् २०२३ क्रेटामा सुरक्षा फिचर पनि केही थप भएर आएको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्टमा ६ वटा एयरब्याग अनिवार्य गरेको हो । इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, हाइट अनुसार मिलाउन मिल्ने सिट बेल्ट जस्ता फिचर प्रदान गरेको छ ।

नयाँ क्रेटा चाँडै नेपाली बजारमा पनि आउने छ । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले लामो आयात प्रतिबन्धपछि गाडी आयात सुरु गरिसकेको छ ।


Back_to_top