२०२३ मोडल केटीएम २५० एड्भेन्चरको विक्री सुरु, ७० हजार मूल्य घट्यो

काठमाडौं । केटीएम २५० एड्भेन्चरको नयाँ भर्सन विक्री सुरु भएको छ । कम्पनीले केटीएम २५० एड्भेन्चर २०२३ मोडलको विक्री सुरु गरेको हो ।

कम्पनीले यसअघि बुकिङ लिएका मोटरसाइकल डेलिभरी दिन सुरु गरेको जनाएको छ भने, अहिले बुकिङ गर्ने ग्राहकले २ दिनमा नै डेलिभरी पाउने जनाएको हो ।

केटीएम मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाचन्द एण्ड कम्पनीले यसअघि ८ लाख २० हजार रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको केटीएम २५० एड्भेन्चरको २०२३ मोडलमा भने ७० हजार रुपैयाँले घटाएर विक्री सुरु गरेको हो ।

कम्पनीका अनुसार नयाँ भर्सन २५० एड्भेन्चरको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

केटीएम २५० एड्भेन्चरको २०२३ मोडल नयाँ कलरमा आएको छ । नयाँ भर्सन २५० एड्भेन्चरमा इलेक्ट्रोनीक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ ।

कलर र ग्राफिक्स बाहेक नयाँ भर्सनमा कुनैपनि किसिमको मेकानीकल परिमार्जन भएको छैन । यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई र्याली डकार रेस मोटरसाइकल केटीएम ४५० बाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर लिएको छ ।


Back_to_top