काठमाडौं । भारतीय अटोमोबाइल्स कम्पनी टाटाले आफ्नो सफल माइक्रो एसयूभी पन्चको फेसलिफ्ट सार्वजनिक गरेको छ ।
कम्पनीले विभिन्न ८ भेरियन्टमा पन्च फेसलिफ्ट बजारमा ल्याएको हो । टाटाले नयाँ पन्च पेट्रोल र सीएनजी भर्सनमा ल्याएको हो ।
कम्पनीले पन्च फेसलिफ्टको सबैभन्दा तल्लो स्मार्ट भेरियन्टको मूल्य ५ लाख ५९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर बिक्री सुरु गरेको हो । माथिल्लो सीएनजी अकम्प्लिस्ड प्लस एस भेरियन्टको मूल्य १० लाख ५४ हजार भारु तोकेको छ ।
टाटा मोटर्सले डिजाइन परिवर्तनसँगै फिचर्सहरु थपेर फेसलिफ्ट पन्च बजारमा ल्याएको हो । फेसलिफ्ट पन्चको डिजाइन सन् २०२४ मा लन्च गरिएको पन्च ईभीसँग मिल्दोजुल्दो छ । यसको अगाडि निकै पातलो एलइर्डडी डे टाइम रनिङ लाइटको प्रयोग गरिएको छ । अगाडि र पछाडि नै प्रयोग भएको बम्परलाई ‘रि डिजाइन’ गरेको छ ।
कम्पनीले पन्च फेसलिफ्टमा एसयूभीमा एडास २.० प्रयोग गरेको छ । पछाडिको लाइटबार, नयाँ डिजाइनको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम थपेको छ ।
कम्पनीले फेसलिफ्ट पन्चको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । यसमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन रहेको छ । यसले १२० हर्ष पावर तथा १७० न्युटन मिटर र्टक प्रदान गर्छ । उक्त इन्जिनसँग ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स अप्सनमा उपलब्ध छ । यसले शून्यदेखि १०० किमीको स्पीड ११.१ सेकेण्डमै भेट्टाउन सक्छ ।

