काठमाडौं । मुस्ताङ भन्सार कार्यालय, नेचुङबाट २०९ वटा विद्युतीय सवारी साधन (ईभी) जाँचपास भएका छन् ।
पहिलोपटक चिनियाँ नाका कोरला हुँदै ल्याइएको विद्युतीय सवारी साधन भन्सार जाँचपास भएको हो ।
२ महिनादेखि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि व्यवसायीहरूले विकल्पमा मुस्ताङको कोरला नाका हुँदै ईभी र अन्य मालसामान ल्याउन थालेका हुन् ।
भदौ ३० गतेदेखि लोमन्थाङ गाउँपालिका-२ छोसेरस्थित नेचुङ भन्सार कार्यालयबाट मालसामान जाँचपास सुरू गरिएको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए । उनले उक्त भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान गरी सामान जाँचपास थालिएको बताए ।
उनका अनुसार असोज ४ गतेसम्म कोरला नाकाबाट ल्याइएका २०९ युनिट ईभी जाँचपास गरिएको छ । काेरला नाका हुँदै बीवाइडी, लीप मोटर, जेको लगायत ब्राण्डका ईभी भन्सार जाँचपास भएर छुटेका हुन् ।

त्यस्तै, चीनबाट ल्याइएको १०७ वटा कन्टेनर सामान पनि जाँचपास गरिएको उनले बताए । व्यवसायीहरूले कोरलाबाट लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक लगायत सामान ल्याएका हुन् ।
उनले कोरलाबाट ईभी र अन्य सामान आयात हुँदा ४ गतेसम्म ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैया राजस्व संकलन भएको उनले बताए ।
उनले चीनबाट आयात गरिएको सामानको सहज जाँचपासका लागि प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको बताए ।
उनले लोमान्थाङमा रहेको प्रभु बैंकबाट भन्सार राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाइएको बताए ।

