चाडवाडमा सहज बनाउन बीपी राजमार्ग पुनः मर्मत गरिँदै

काठमाडौं । चाडवाडको बेला सहज यात्रा गराउन बीपी राजमार्ग पुनः मर्मत गरिने भएको छ ।

गत वर्ष असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अस्थायी मर्मत गरी संचालनमा ल्याइएको छ । वर्षाको समयमा क्षति पुगेको सडक पुनः मर्मत गर्न लागिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले चाडवाडको बेलामा यात्रा सहज बनाउन पुनः मर्मत गर्न लागिएको उनले बताए । उनले सडकमा खाल्डाखुल्डी पुरिने बताए ।

‘दशैँ तिहारलगायत चाडवाडमा अवरुद्ध हुन नदिन सजगता अपनाइएको छ, एकदुई दिनभित्र सडकका खाल्डाखुल्डी पुरेर सडक सुधार गर्दै यात्रा सहज बनाउन लागिएको छ,’ उनले भने ।

उनले वर्षाका कारण सडक अवरुद्ध भइहाले खुलाउन विभिन्न ठाउँमा उपकरणहरू स्ट्याण्डबाइ राखिएको बताए । उनका अनुसार ठेक्का सम्झौता भएको खण्डमा निर्माण व्यवसायी मेसिन लिएर बाढी पहिरो आए सडक खुलाउने छन् । बर्खाभर इन्जिनियर र सब इन्जिनियर फिल्डमै रहने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

२०८१ असोजमा आएको बाढीले बीपी राजमार्गको अहिले ३०.५ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो । सोमध्ये हाल २५ किलोमिटर खण्डको ठेक्का लगाइ पुनर्निमार्ण सुरु गरिएको हो । कुल ३० किमी सडकलाई ४ खण्ड (काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १)मा विभाजन गरी पुनर्निर्माण गरिँदै छ ।

हाल काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेजको ठेक्का सम्झौता भइसकेको छ । भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमी खण्डको ठेक्का लामा-नव कान्तिपुर जेभीले लिएर निर्माण स्थलमा परिचालन भइसकेको छ । भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

त्यस्तै, चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमी दूरीको ठेक्का खानी-कमलजित-एवान जेभीले पाएको छ । यसखण्डको ठेक्का भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो ।

त्यस्तै, बर्खे खोलादेखि नेपाल थोकसम्मको ५ किमी खण्डको ठेक्का खरीढुंगा-घिसिङ-क्षितिज जेभीले पाएको छ । यो खण्ड भ्याटबाहेक ठेक्का रकम ५५ करोड रुपैयाँमा सम्झौता भएको हो ।

यो सडकको ५ किमी खण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरिदिने भएको छ । जसमा जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमी सडक निर्माण गर्ने छ । बाँकी खण्ड जापानको अनुदानमा नेपाल सरकारले निर्माण गर्नेछ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

बीपी राजमार्ग काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो सडक हो ।


Back_to_top