काठमाडौ । सन् २०२५ को ७ महिना (जनवरी-जुलाइ)मा १ लाख बढी मोटरसाइकल नेपाल भित्रिएका छन् ।
७ महिनामा १ दर्जन बढी ब्राण्डका १ लाख २५६ युनिट मोटरसाइकल आयात भएको हो । यो संख्या एसेम्बल/अनएसेम्बल दुवै मोटरसाइकलको हो ।
पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार आएसँगै अटोमोबाइल क्षेत्र चलायमान हुँदा मोटरसाइकलको आयात पनि बढेको हो ।
नेपाली बजारमा २ दर्जन बढी ब्राण्डका मोटरसाइकल बिक्री हुँदै आएका छन् । तर, बजारमा भने बजाजले एकछत्र राज गरेको देखिन्छ । कुल मोटरसाइकल बजारमा बजाजको हिस्सा आधाभन्दा बढी रहेको छ ।
सन् २०२५ को ७ महिनामा मात्रै बजाजले ५४ हजार ९३१ युनिट मोटरसाइकल आयात गरेको छ । यो कुल मोटरसाइकल आयातको ५४.७८ प्रतिशत हो ।
नेपालमा बजाजका मोटरसाइकल हशंराज हुलास चन्द एण्ड कम्पनीले आयात तथा बिक्री गर्दै आएको छ । कम्पनीले बजाजका पल्सर सिरिज, डोमिनार, एभेन्जर, डिस्कभर मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ ।
त्यस्तै, यस वर्ष मोटरसाइकल आयातमा हिरो दोस्रो स्थानमा रहेको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ६ महिनामा १२ हजार ५४५ युनिट मोटरसाइकल ल्याएको छ । यो कुल आयातको १२.५१ प्रतिशत हो । नेपालमा हिरोको एक्सपल्स, स्प्लेण्डर, सुपर स्प्लेण्डर, एक्सट्रीम लगायत मोडलका मोटरसाइकल उपलब्ध छन् ।
हिरोलाई पछ्याउँदै यामाहा तेस्रो स्थानमा रहेको छ । एमएडब्लू राइडले ७ महिनामा १० हजार २२२ युनिट मोटरसाइकल नेपाल भित्र्याएको छ । यो कुल आयातको १०.१९ प्रतिशत हो । कम्पनीले एफजेड, आर १५, एमटी १५, सलुटो, एक्सटीजेड, डब्लूआर लगायत मोडलका मोटरसाइकल आयात गर्दै आएको छ ।
सन् २०२५ मा बजाज, हिरो र यामाहा बाहेकले भने १० हजारभन्दा कम युनिट मोटरसाइकल आयात गरेका छन् । ८ हजार ५०० युनिटसहित टीभीएस चौथो स्थानमा रहेको छ । जगदम्बा मोटर्सले टीभीएसका अपाचे आरटीआर सिरिज, रेडर, रोनिन, स्ट्राइकर मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ ।
त्यस्तै, रोयल इन्फिल्ड पाँचौं स्थानमा रहेको छ । अल्फा अटोमोटिभ्सले ७ महिनामा ७ हजार ५६२ युनिट रोयल इनफिल्ड मोटरसाइकल आयात गरेको छ । नेपालमा रोयल इनफिल्डका क्लासिक ३५०, हन्टर, मेटियर, हिमालयन मोडल चर्चित छन् ।
त्यस्तै, सन् २०२५ मा केटीएम ५२२ युनिट, सुजुकी १०८ युनिट, जोनसेन ४५ युनिट, जुमाभ ४५ युनिट, सीएफ मोटो ३५ युनिट र अन्य ब्राण्डका ४० युनिट मोटरसाइकल आयात भएको छ ।

