काठमाडौं । नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पोखरामा भव्य रूपमा भएको छ ।
सन् २०२५ भरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलकुदको प्रतिष्ठा उँचो बनाएका खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौंबाहिर पहिलोपटक आयोजना गरिएको यस संस्करणमा ११ विधामा अवार्ड वितरण गरिएको थियो । यस वर्षको वर्षका उत्कृष्ट पुरुष खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीले प्राप्त गरे ।
ऐरीलाई गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड तथा पुरस्कार प्रदान गरे । त्यसैगरी, कराते खेलाडी एरिका गुरुङ वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । अवार्ड जित्न सफल दिपेन्द्र सिंह ऐरीले पल्सर एनएस टु हन्ड्रेड एबीएस मोटरसाइकल जितेका हुन ।
पल्सर स्पोट्स अवार्ड लगायत बजाजले नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बजाजले वर्षेनी आयोजना हुँदै आएको एनएसजेएफ पल्सर स्पोट्स अवार्डमार्फत खेलाडी, प्रशिक्षक तथा खेलकुदकर्मीहरूको सम्मान र हौसला बढाउँदै आएको छ ।
त्यस्तै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि, प्रतियोगिता र प्रतिभा पहिचान कार्यक्रमहरूमा सहकार्य गर्दै बजाजले नेपाली खेलकुदको विकास, प्रवद्र्धन र व्यवसायीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपाली खेलकुदको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने स्पेशल अवार्ड वरिष्ठ खेल प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रदान गरिएको थियो ।
अन्य विधा अन्तर्गत पिपुल्स च्वाइस अवार्ड, वर्षका उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पारा-एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी, तथा विभिन्न खेल विधामा उल्लेखनीय प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।
एनएसजेएफले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्स अवार्ड नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ । यो आगामी वर्षहरूमा पनि पारदर्शी र वस्तुनिष्ठ मूल्यांकन प्रणालीमार्फत योग्य खेलाडी तथा खेलकुदकर्मीलाई सम्मान गर्दै खेलकुद पत्रकारिता र खेलाडी बीचको सम्बन्धलाई अझ मजबुत बनाइने आयोजकले बताएका छन् ।

