काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक नियोको प्रिमियम कम्प्याक्ट ईभी ‘फायरफ्लाइ’ राइट ह्याण्ड ड्राइभमा विश्व बजारमा डेब्यू भएको छ ।
कम्पनीले बिहीबार सिंगापुर मोटर शो २०२६ मा राइट ह्याण्ड ड्राइभ फायरफ्लाइ ईभी सार्वजनिक गरेको हो । यससँगै फायरफ्लाइको राइट ह्याण्ड ड्राइभ मोडल औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको हो ।
कम्पनीले सिंगापुरमा फायरफ्लाइ ईभीको अग्रिम बुकिङ समेत खुलाएको छ । नियोले सन् १९०६ मा स्थापना भएको सिंगापुरको अटोमोबाइल कम्पनी वर्न्स अटोमोटिभसँग सहकार्य गर्दै फायरफ्लाइ बिक्री वितरण गर्ने भएको हो । वर्न्स सिंगापुरको प्रतिष्ठित अटो कम्पनी हो । यसले विभिन्न प्रिमियम तथा लक्जरी ब्रान्डहरू बिक्री वितरण गर्दै आएको छ ।
फायरफ्लाइ लेफ्ट ह्याण्ड ड्राइभ मोडल भने यसअघि नै अन्तिर्राष्ट्रि बजार (युरोप)मा बिक्री हुँदै आएको छ । चीनमा यो ईभी पहिलोपटक सन् २०२५ अप्रिलमा लन्च गरिएको थियो।
कम्पनीले राइट ह्याण्ड मोडल फायरफ्लाइको ‘स्पेक’ विवरण सार्वजनिक नगरे पनि लेफ्ट ह्याण्ड मोडलकै जस्तै हुने अनुमान छ । लेफ्टह्याण्ड फायरफ्लाइ मोडलमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसमा सनवाडाले उत्पादन गरेको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसमा पनि ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गरिएको छ ।

फायरफ्लाइको लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम र उचाइ १५५७ एमएम छ । यसको ह्वीलबेस २६१५ एमएम छ । फायरफ्लाइमा ह्वील भने १८ इन्चको प्रयोग भएको छ । यस कारको टर्निङ रेडियस केबल ४.७ मिटर छ । सुरक्षाका लागि यसमा एडास सिस्टम र ९ वटा एयरब्याग उपलब्ध राखिएको छ ।
नियोले फायरफ्लाइ ब्राण्ड सन् २०२४ डिसेम्बरमा सार्वजनिक गरेको थियो । सन् २०२५ अप्रिलदेखि फायरफ्लाइका कार बिक्री सुरू गरेको थियो ।
सिंगापुरमा राइट ह्याण्ड ड्राइभ मोडल सार्वजनिक गरेसँगै कम्पनीले चाँडै अष्ट्रेलिया र न्युजिल्याण्डमा समेत आफ्ना ईभी बिक्री गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय बजार विस्तारमा आक्रमक बनेको नियोले यस वर्षको अन्त्यसम्म ४० बढी देशमा आफ्नो उपस्थिति जनाउने लक्ष्य राखेको छ ।
सिंगारपुरमा आएसँगै फायरफ्लाइ चाँडै नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ । नेपालमा नियोको आधिकारिक बिक्रेतामा पारामाउन्ट मोटर्स रहेको छ ।

