अब बीवाइडीकाे इन्ट्री लेभल ह्याचब्याकमा पनि ‘लाइडार’ हुने

काठडमौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले आफ्ना इन्ट्री लेभल ह्याचब्याक कारमा पनि लाइडार सेन्सर दिने भएको छ ।

कम्पनीले चीनमा आफ्ना सस्ता ह्याचब्याक सिगल र डल्फिनमा लाइडार जडान गर्ने भएको हो । बीवाडीले यसअघि महँगा कार र डेन्जा मोडलहरूमा मात्र लाइडर सेन्सर प्रणाली प्रयोग गर्दै आएको थियो ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले आन्तरिक प्रमाणीकरण प्रक्रियाका क्रममा बीवाइडी सिगल र डल्फिनमा ऐच्छिक रूपमा लाइडर सेन्सरहरू जडान गर्न सकिने खुलासा गरेको छ । नियामकले यी मोडलहरूको छतमा उक्त सेन्सरहरू जडान गरिएका तस्बिरहरू समेत सार्वजनिक गरेको छ ।

यो सेन्सर थपिएपछि सिगल र डल्फिनमा ‘डी-पाइलट ३००’ (गड्स आइ बी) असिस्टेड ड्राइभिङ प्रणाली जडान हुनेछ । डी-पाइलट ३०० मा ‘रोबोसेन्स’द्वारा निर्मित लाइडर सेन्सर प्रयोग गरिन्छ । जसले ३५० मिटरसम्मको वस्तु पहिचान गर्ने क्षमता राख्दछ ।

डी पाइलट ३०० प्रणालीमा एनभिडिया ड्राइभ ओरिन चिप प्रयोग गरिएको हुन्छ । जसको अधिकतम कम्प्युटिङ क्षमता २५४ टप्स रहेको छ। यसले सवारीलाई सहरी सडक र राजमार्गमा नेभिगेट अन अटोपाइलट सुविधा प्रयोग गर्न सक्षम बनाउँछ ।

बीवाइडीले सन् २०२५ को सुरूमा यी ह्याचब्याकमा डी-पाइलट १०० (गड्स आइ सी) सहायक ड्राइभिङ प्रणाली जडान राखेको थियो । जसमा १२ वटा क्यामेरा, ५ एमएम वेभ रडार र १२ वटा अल्ट्रासोनिक सेन्सर थिए । अब बीवाइडीले सिगल र डल्फिनमा नयाँ लाइडर सेन्सर थपेर यिनको सेन्सिङ प्रणाली अझ एड्भान्स बनाउन लागेको हो ।

लाइडर सेन्सरले गाडीको वरपरको अवस्था थाहा पाउन सक्ने क्षमतालाई अझ बलियो बनाउने र असिस्टेड ड्राइभिङको कार्यक्षमतालाई थप बढाउँछ ।

बीवाइडी सीगल र डल्फिन विश्वव्यापी रूपमा बिक्री हुँदै आएका ‘ओसियन-सिरिज’का दुई ह्याचब्याक मोडेल हुन् । सिगललाई विश्व बजारमा मिनी डल्फिन, डल्फिन सर्फ र एटो १ नामले समेत चिनिन्छ ।

नेपालमा साइमेक्स इंकले बीवाइडीका यी दुवै ह्याचब्याक बिक्री गर्दै आएको छ । नेपालमा सिगल ‘एटो १’ नाममा बिक्री हुँदै आएको छ ।


Back_to_top