काठमाडौं । साझा यातायातले ल्याएको तीनवटा विद्युतीय बस चलाउने जिम्मा महिला चालकले पाएका छन् । साथै, बसमा सहचालक पनि महिलानै राखिएको छ । आज बिहिबारबाट बुढानिलकण्ड र एयरपोर्ट रुटमा यी विद्युतीय बस संचालनमा आएको हो ।
साझाले चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीसँग ४० वटा विद्युतीय बस खरिद गर्ने सम्झौता गरेको थियो। सम्झौता अनुसार सुरुमा तीनवटा बस ल्याएको हो ।
अहिले संचालनमा रहेका तीनवटा बस २५ सिट माथि सिट क्षमता भएका बस हुन् । अब साझाले चाँडै बाँकी ३७ वटा इलेक्ट्रीक बस ल्याउने जनाएको छ । साझा यातायातले करिब ६१ करोड खर्च गरेर ४० वटा बस ल्याउन लागेको हो ।
साझाले सेवा सुरु गरेको तीनवटै बसमा वाइफाइ, टीभी, सीसी क्यामेरा जडान भएका छन् । अपाङ्गतामैत्री यी बसको संचालनपछि डिजेल खपत नहुने र सून्य प्रदुषण भएकाले दिर्घकालीन फाइदा दिने छन् ।
सरकारको सबैभन्दा धेरै सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस सञ्चालनमा छन् ।


