काठमाडौं । नेपालमा विद्युतीय गाडीको बजार विस्तारमा हुन्डाई, बीवाइडी, एमजी र कियाको निकै ठूलो भूमिका छ । यसोभन्दै गर्दा नेपालमा विद्युतीय कार ल्याउने पहिलो कम्पनी भने महिन्द्रा हो । उसको योगदानलाई अवमूल्यन गर्नै मिल्दैन ।
एसयूभी सेग्मेन्टमा ईभी आउन थालेसँगै ईभीको बजारमा ठूलो हलचल पैदा भएको हो । उक्त हलचल हुन्डाई कोना, एमजी जेडएस ईभी, बीवाइडी ई सिक्स र किया निरोले पैदा गराएका थिए ।
अहिले यी मध्ये हुन्डाई कोना र किया निरो अन्तर्राष्ट्रिय बजारमा सफलताका साथ बिक्री भइरहेका छन् । किया निरो पूर्णरूपमा नेपालमा बन्द भए पनि हुन्डाई कोना ईभी अहिले पनि किन्न पाइन्छ । तर, नेपालमा ईभीको जग बसाल्ने एमजी जेडएस ईभी र बीवाइडी ई सिक्स भने नयाँ उत्पादन रोकिएको वर्ष बढी भइसक्यो ।
एमजी मोटरले आफ्नो सफल एसयूभी जेडएस ईभीको सट्टामा ‘एमजी एस फाइभ’ ल्याएर बिक्री गर्दै आएको छ । नेपाली बजारमा अहिले पनि एस फाइभ एक सफल मोडलको रूपमा स्थापित भइसकेको छ । मूल्यका हिसाबले पनि जेडएस ईभीको तुलनामा एस फाइभ आकर्षक छ ।

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभीको मूल्य ५२ लाख रुपैयाँ कायम गरेर बिक्री गरेको थियो । पछिल्लो स्टक बिक्री गर्न भने त्यसमा ६ लाख रुपैयाँ नगद छुट दिएर ४६ लाख रुपैयाँ कायम गरेर बिक्री गरेको थियो ।
अहिले बिक्री हुँदै आएको एस फाइभको इन्ट्री भेरियन्ट ४३ लाख ९९ हजारदेखि टप भेरियन्ट ५४ लाख ९९ हजार रुपैयाँसम्ममा किन्न पाइन्छ । कम्पनीले यसमा नगद छुट पनि दिँदै आएको छ । टेक्नोलोजीमा पनि व्यापक परिमार्जन भएर आएको एस फाइभ जेडएस ईभीको तुलनामा निकै एड्भान्स फिचरले भरिपूर्ण छ । त्यसैले बजारमा जेडएस ईभीको युग अन्त्य भए पनि एमजी थप मजबुत भएर आएको देखिन्छ ।

बजारबाट हराएको अर्को मोडल बीवाइडी अल न्यू ई सिक्स हो । मूल्यका हिसाबले ५९ लाख रुपैयाँ बिक्री भएको अल न्यू ई सिक्स ठूलो साइज, फराकिलो क्याबिन र विशाल बुट स्पेशको लागि परिचित मोडल हो । ईभीको रेन्ज ३०० किलोमिटर औसत भएको समयमा आएको अल न्यू ई सिक्सले ५२२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी थियो । यो प्रोडक्ट प्रयोग गर्नेहरू अहिले पनि निकै सन्तुष्ट भेटिन्छन् ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अल न्यू ई सिक्सको विकल्पमा अहिले एम सिक्स मोडल ल्याएर बिक्री गर्दै आएको छ । तर, हाम्रो माझमा ई सिक्स मोडल भने छैन ।
किया निरो नेपाल आएको छोटो समयमा नै सफल भएको थियो । सरकारले चलाएको करका दरसँगै नेपाली बजारमा यसको मृत्यु अल्पायुमै भयो भन्न सकिन्छ । १५० किलोवाट क्षमताको मोटर जडान भएको निरोले बजारमा अन्य प्रतिस्पर्धीसँग मूल्यको कारण जुध्न नसक्दा आयात नै बन्द भयो । अहिले पनि अन्तर्राष्ट्रिय बजारमा भने निरो ईभी बिक्री भइरहेको छ ।

