चीनमा बिक्री सुरू हुने तयारीमा ३ नयाँ मोडल

काठमाडौं । न्यू इनर्जी भेहिकलको सबैभन्दा ठूलो बजार चीनमा ईभी उत्पादन पनि तीव्र विस्तार हुँदै आएको छ । चिनियाँ बजारमा ५५ प्रतिशत हाराहारी न्यू इनर्जी भेहिकल बिक्री हुन थालिसकेको हो ।

बजारमा माग बढ्दै जाँदा उत्पादकहरूले पनि एकपछि अर्को नयाँ मोडल बजारमा उतार्दैछन् । खासगरी चिनियाँ ईभी बजारमा प्रिमियम र लग्जरी कार बिक्री गर्ने तीन ब्राण्डले ल्याउन तयार पारेको एसयूभीको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

चिनियाँ कम्पनी बीवाइडी, आरफक्स र आइटो ब्राण्डले बजारमा ल्याउने तयारी गरेको ३ एसयूभीको अहिलेसम्म बाहिर आएका कुराहरू समेटेर यो रिपोर्ट तयार पारिएको हो ।

यी तीन मध्ये बीवाइडी मात्रै नेपाली बजारमा बिक्री वितरण हुँदै आएको ब्राण्ड हो । तर, अन्य दुई ब्राण्डका उत्पादन पनि सन् २०२६ मै नेपाल प्रवेश गर्ने तयारीमा छन् ।

बीवाइडी सङ अल्ट्रा

चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीको सङ अल्ट्रा छिट्टै प्योर ईभी मोडलको रूपमा आउने भएको छ । यसअघि डीएम–आई प्लगइन हाइब्रिड मोडलको रूपमा उपलब्ध सङ अल्ट्रा मोडल अब ईभीमा आउने भएको हो ।

बीवाइडीको नयाँ क्रसओभर एसयूभीको लम्बाइ ४८५० एमएम, चौडाइ १९१० एमएम र उचाइ १६७० एमएम रहनेछ । कम्पनीले यसमा २८४० एमएम लामो ह्वीलवेस दिने जनाएको छ ।

अहिलेसम्म नयाँ ईभीमा रहने ब्याट्री पावरको विषयमा कुनै जानकारी बाहिर नआए पनि २३९ किलोवाट र २७० किलोवाटको दुई फरक पावर भएको मोटरमा उपलब्ध हुनेछ । दुबै भेरियन्टमा एलएफपी ब्याट्री जडान हुनेछ ।

आरफक्स ‘काओला एस’

बेइजिङ अटोमोटिभ्स ग्रुप अन्तर्गतको आरफक्स ब्राण्डमा काओला एस मोडल चीनमा बिक्री सुरू हुँदैछ । खासगरी १४ हजार ३०० अमेरिकी डलर सुरूवाती मूल्य रहेको आरफक्स काओला एस मोडल विभिन्न तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

काओला एस मोडलको लम्बाइ ४५०० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६७५ एमएम लामो छ । यसमा २८२० एमएम लामो ह्वीलबेस दिइएको छ । कम्पनीले १५० किलोवाट क्षमताको मोटर दिएको छ । यसमा ५८.८ किलोवाट आवरको एलएफपी ब्याट्री रहनेछ ।

आइटो ‘एम सिक्स’

सन् २०२६ को दोस्रो त्रैमासबाट बजारमा बिक्री सुरू हुने बताइएको आइटो एम सिक्स एक लग्जरी एसयूभी हो । यसको मूल्य ३६ हजार अमेरिकी डलर हाराहारी रहने बताइएको छ । सेरेस ग्रुप अन्तर्गतको आइटो ब्राण्डमा आएको एम सिक्स ‘एडास फोर’ फिचर उपलब्ध एसयूभी हो ।

मिड साइज एसयूभी सेग्मेन्टमा उपलब्ध एम सिक्समा हुवावेको हार्मोनी ओएस ककपीट फाइभ दिइएको छ । टेक फिचरको कारण अहिलेसम्मकै परिष्कृत चिनियाँ मोडलको रूपमा यसलाई बजारमा ल्याउने कम्पनीले तयारी गरेको छ ।


Back_to_top