काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन पुस)मा वीरगंज भन्सार नाका हुँदै दुईपाँग्रे सवारी आयात ३७.०८ प्रतिशतले बढेको छ ।
वीरगंज भन्सार कार्यालयका अनुसार ६ महिनाको अवधिमा यस नाका हुँदै कुल ४० हजार ४९२ युनिट दुईपाँग्रे सवारी आयात भएको हो ।
यो गत वर्ष सोही अवधिको तुलनामा ११ हजार २२५ युनिट धेरै हो । गत वर्ष पुससम्म वीरगंज नाका हुँदै कुल ३० हजार २६७ युनिट दुईपाँग्रे सवारी आयात भएको थियो ।
चालु आवमा आयात भएका कुल सवारीमध्ये ७९.८५ प्रतिशत ‘अनएसेम्बल्ड’ मोटरसाइकल रहेका छन् । ६ महिनामा वीरगंजबाट ४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।
ती सवारी साधनको आयातबाट ४ अर्ब ४३ करोड रुपैयाँ राजस्व प्राप्त भएका छ । गत आवको सोही अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
कार्यालयका अनुसार चालु आवको पुससम्म ४५ करोड ८१ लाख रुपैयाँ बराबरका ४ हजार ५६७ वटा तयारी मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका २ हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।
यसैगरी, चालु आवको पहिलो ६ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल स्कुटर आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल स्कुटर आयात भएका थिए ।

