थापाथलीमा बहुतले पार्किङ बन्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली कर्यालयमा रहेको १ रोपनी हाराहारी जमिनमा बहुतले पार्किङ निर्माण हुने भएको छ । त्यसको लागि नगर विकास कोष संभाव्यता अध्यन गर्ने तयारी गरेको हो ।

उपत्यकाका विभिन्न स्थानमा बहुतले पार्किङ बनाउन आएका प्रस्तावमध्ये कोषले पाइलट प्रोजेक्टको रूपमा थापाथलीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जमिनमा संभाव्यता अध्यन गर्न लागेको कोषका सूचना अधिकारी सूर्यबहादुर कार्कीले जानकारी दिए । त्यसको लागि अहिले कन्सलटेन्ट हायर गर्ने प्रक्रिया अगाडि बढेको छ ।

‘कुन मोडलमा बन्ने निर्णय भइसकेको छैन, संभाव्यता अध्ययनपछि कस्तो मोडलमा, कति मूल्यमा पार्किङ स्थल बन्ने भन्ने एकिन हुन्छ । यसलाई नमूना योजनाको रूपमा मात्र बनाउन लागेका हौं,’ कार्कीले भने ।

पार्किङ निर्माण गर्न २ करोड रुपैयाँ हाराहारीमा लागत लाग्ने अनुमान गरिएको छ । उक्त रकम ऋण लिएर बनाउने तयारी छ ।

निजी क्षेत्रहरूले बहुतले पार्किङ निर्माणमा चाँसो देखाए पनि कानुनी रूपमा निजी क्षेत्रसँग कसरी सहकार्य गरेर पार्किङ निर्माण गर्ने भनेर छलफलको चरणमा रहेको कार्कीले बताए ।

‘कोषले अहिलेसम्म महानगरपालिका, नगरपालिकाहरूका लागि मात्र काम गरेको हुँदा निजी क्षेत्रसँग काम गर्न छुट्टै तयारी भइरहेको छ,’ कार्कीले भने ।

कोषका इन्जिनीयर नवीन तिवारीका अनुसार संभाव्यता अध्ययनको काम पुरा हुन ३/४ महिना लाग्ने र त्यसपछि निर्माणमा गएर एक वर्षभित्रमा सम्पन्न हुने देखिन्छ ।

केही समयअघि कोषले बहुतले पार्किङ निर्माणको लागि आवेदन माग गरेको थियो । त्यति बेला थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशला, चाबहिल, मित्रपार्कलाई सम्भाव्य स्थानको रूपमा सूचीकृत गरिएको थियो ।

त्यस्तै, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यस्त सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ ।


Back_to_top