बिक्रीको लागि तयार ५ इलेक्ट्रीक कार

काठमाडौं । नेपाली बजारमा बढ्दो ईभीको मागसँगै नयाँ-नयाँ मोडलहरु पनि आइरहेको छन् । उपभोक्ताको क्रेज एसयूभी सेग्मेन्टमा भएको कारण बिक्रेताहरुले पनि त्यसैलाई जोड दिइरहेको पाइन्छ ।

नेपाली बजारमा प्रबेश भइसकेका फरथिङ, बीवाइडी, महिन्द्रा र एमजीका गाडी बजेटपछि बिक्री हुने अनुमान गरिएको छ । अहिले नेपाल ल्याएर अधिकांश मोडलको परीक्षण भइरहेको आधिकारीक बिक्रेता कम्पनीहरुको भनाइ छ ।

अहिले नेपाल आइसकेका र छिट्टै बिक्री सुरु हुने ५ गाडीमा रहेको मुख्य कुरा ब्याट्री, मोटर र सम्भावित मूल्यको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

१. फरथिङ फ्राइडे

लक्ष्मी इमोविलिटीले नेपाल ल्याएको फरथिङ फ्राइडे केही दिन अगाडि नेपाल आएको हो । चिनियाँ कम्पनी डोङफेङ मोटर्स अन्तर्गतको फरथिङ ब्राण्डमा आएको एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । यसको रेन्ज ४०० किलोमिटर हाराहारी हुनेछ ।

फरथिङ फ्राइडे एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुबै भेरियन्टमा समान ९९ किलोवाट आवरको मोटर रहने एसयूभीको सुरुवाती मूल्य ५७ लाख हाराहारी हुनेछ ।

२. महिन्द्रा एक्सईभी-९

भारतीय एसयूभी एक्सपर्ट महिन्द्राको बहुप्रतिक्षित एसयूभी नेपाल आएको छ । प्रिमियम कुप्पे डिजाइनमा तयार भएको एक्सईभी-९ई केही दिन अगाडि मात्रै नेपाल प्रबेश गरेको हो ।

कम्पनीले एक्सईभी-९ ईलाई दुई मोटर र दुई ब्याट्री अप्सनमा ल्याएको छ । नेपाली बजारमा ९९ किलोवाट आवर र १९९ किलोवाटको दुई इलेक्ट्रीक मोटरमा उपलब्ध हुनेछ । यसमा ब्याट्री पनि ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको रहने छ । यसको सुरुवाती मूल्य ७७ लाख माथि रहने अनुमान गर्न सकिन्छ ।

३. बीवाइडी सिलायन-७

नेपालमा सर्वाधिक सफल मध्येको एक इलेक्ट्रीक ब्राण्ड बीवाइडीले सिलायन-७ नेपाल ल्याइसकेको छ । यसअघि प्रदर्शनीको लागि मात्रै आएको सिलायन ईभी अब बिक्रीको लागि आएको अनुमान गर्न सकिन्छ । कम्पनीले केबल १०० किलोवाटको मोटरमा यसलाई नेपालमा बिक्री गर्ने अनुमान सुरु भएको छ । यदि, सानो मोटरमा आयोभने ठूलो गाडीको मूल्य ७५ लाख आसपार पर्नेछ ।

बीवाइडीले ८२.५ किलोवाट आवर क्षमताको ब्याट्रीमा सिलायन-७ नेपालमा बिक्री गर्नेछ । सम्भवत बजेट लगत्तै वा अटो शोको आसपासबाट साइमेक्स इंकले सिलायन-७ को बिक्री थाल्ने अनुमान गर्न सकिन्छ ।

४. एमजी विन्डसर

एमजीले भारतमा उत्पादन गरेको विन्डसर ईभी केही दिन अगाडि मात्रै नेपाल प्रबेश गरेको हो । बजेट लगत्तै आधिकारीक बिक्री सुरु हुने अनुमान गरिएको विन्डसर दुई भेरियन्टमा नेपाल आएको छ ।

एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार यी दुबै भेरियन्टमा समान ३८ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसको सुरुवाती मूल्य ४० लाख हाराहारी पर्नेछ ।

५. महिन्द्रा बीई-६

युवाहरुको रोजाईमा निकै अगाडि देखिएको महिन्द्रा बीई-६ लाई अग्नी इनकर्पोरेट प्रालिले ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा ल्याएको छ । कम्पनीले यसलाई दुई ब्याट्री अप्सन दिएको छ । जसमा एक्सईभी-९ को जस्तै ५९ र ७९ किलोवाट आवरको ब्याट्री रहने छ ।

नेपालमा बिभिन्न चरणको परीक्षण सकाएर आगामी साउनदेखि बिक्री सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको बीई-६ को मूल्य ७६ लाख रुपैयाँबाट सुरु हुने देखिएको छ ।

 


Back_to_top